विश्व लगानीकर्ता सप्ताहको अवसरमा ३ शहरमा प्रभातफेरी

विश्व लगानीकर्ता सप्ताहको अवसरमा ३ शहरमा प्रभातफेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा देशका ३ प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन सोमबार पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत पुँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रभातफेरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६०० जनाको सहभागिता थियो ।

विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो । सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पुँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको प्रभातफेरीले पूँजी बजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक जानकारी हासिल गर्ने, जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताह असोज १९ गतेदेखि २५ गतेसम्म १ हप्ताभर मनाइँदैछ । सप्ताहका क्रममा पुँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न ठाउँहरूमा पुँजीबजार सम्बन्धी प्रशिक्षण कार्यक्रम, वक्तत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, प्यानल छलफल लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।