काठमाण्डु- स्नो रिभर्स लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ। अब बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बीबी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालनमा रहेको १३.५ मेगावाट क्षमताको आयोजना हो। यसको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ भने लगानी फिर्ता अवधि करिब ८.१७ वर्ष अनुमान गरिएको छ।
आईपीओको बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा प्रणालीमार्फत तोकिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया