पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान सुरु


काठमाण्डु–देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान आइतबारदेखि सुरु भएको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ ।

देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइने छ ।

आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।

यसअघि खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

‘७७ वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौं’, केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन सक्ने छन् । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement