काठमाण्डु – शनिबार राति बिहान हुनै लाग्दा इरानी आकाशमा बज्रेको इजरायली मिसाइलले पश्चिम एशिया भयानक अवस्थातिर धकेलिएको संकेत गरेको छ ।
धेरै समयपछि इरानी भूमिमा यत्तिको ठूलो आक्रमण भएको हो । आक्रमण इरानलाई तर्साउन गरिएको भनिए पनि यसबाट खाडीमा नयाँ परिस्थितिको सिर्जना गर्ने आकलन गरिँदैछ । यो आक्रमणसँगै पश्चिम एसियामा तनाब चर्केको छ ।
अक्टोबर १ मा इरानले इजरायलतर्फ १८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । सुरुमा इजरायलले फाटफुट जवाफ दिए पनि अहिले ठूलै आक्रमण गरेर ठूलै जवाफ दिएको छ ।
इजरायलले सेप्टेम्बर अन्तिम साता लेबनानी राजधानी बेरुतमा हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरुल्लालाई मारेको थियो । उनलाई मार्न गरिएको आक्रमणमा इरानको रेभ्युलस्नरी गार्डका उपप्रमुख ब्रिगेडियर जनरल अब्बास निलफोरेसनको पनि ज्यान गएको थियो ।
नसरुल्लाहसँगै आफ्ना कमान्डर पनि मारिएपछि बदला लिन इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । अक्टोबर १ को त्यो आक्रमणको जवाफ दिन इजरायलले शनिबार राति आफ्नो पूर्णशक्ति देखाएको छ ।
इजरायली आक्रमणमा एक दर्जनभन्दा बढी युद्धक विमान प्रयोग भएका छन् । आक्रमण इरानबाहिरबाट हुने क्षेप्यास्त्र आक्रमण रोक्न ‘एन्टी मिसाइल डिफेन्सिभ सिस्टम’ राखिएको स्थानबाट गरिएको छ । यद्यपी यो आक्रमणमा धेरै हाताहाती भने भएको छैन ।
आक्रमणबारे इरानले दिएको प्रतिक्रियाले इरान इजरायललाई तत्काल बलियो जवाफ दिन इच्छुक नरहेको अनुमान गरिएको छ । इजरायली आक्रमणको जवाफ इरानले तत्काल नदेला भन्ने आस गरिए पनि इरानमाथि दबाब भने बढेको छ । इजरायलको लगातारको आक्रमणले लेबनानमा आफ्नो गठबन्धनको सदस्य हेज्बुल्लाह कमजोर भएका कारण पनि इरानले दबाब महसुस गरिरहेको हो ।
इजरायलले आक्रमण गर्दैछ भन्ने सुइँको पाएका मध्यपूर्वका अन्य देशका अधिकारीहरूले इरानलाई यस्तो सूचना दिएका थिए । इरानले जवाफी आक्रमण नगर्ने भने पनि यतिबेला खाडीका कूटनीतिज्ञहरू चिन्ता जाहेर गरिरहेका छन्, अबचाहिँ गाजा र लेबनानमा भइरहेको युद्ध साँच्चै ‘पर्सियन गल्फ’तर्फ सर्न सक्छ ।
खाडीमा लामो समय इजरायल र इरान छद्मयुद्ध लडेका छन् । अब भने यो युद्ध सतहमा देखिएको छ । यस वर्षमात्र दुई पटक एकअर्कामाथि आक्रमण गरिसकेका यी दुई देशबीचको द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुने स्थितिमा पुगेको छ ।
खाडीमा ठूलो युद्धको सम्भावनाबारे जानकार रहेको अमेरिकी प्रशासनले इजरायललाई इरानको तेलखानी र प्रशोधन पूर्वाधारमाथि आक्रमण नगर्न सचेत गराउँदै आएको छ । यसो भए हालको परिस्थितिले ठूलो युद्धकोे आकार लिने अमेरिकी बुझाइ छ । ‘यदि इरानले फेरि जवाफ दिन खोज्यो भने हामी तयार हुनेछौं र इरानका लागि फेरि एक पटक भयावह परिणाम भोग्नेछ,’ अमेरिकी वरिष्ठ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इजरायलले तत्कालका लागि इरानमाथिको आक्रमण पूरा भएको जनाए पनि शनिबारको घटनाले पश्चिम एसिया क्षेत्रमा तनाव थप बढ्दै जाने देखिन्छ । खासगरी घटनापछि इरान र उसका साझेदारहरू इजरायलसँग थप क्रुद्ध भएका छन् । यसको अर्थ इरानले इजरायलमाथि आक्रमण गर्ने अवसरको पर्खाइ सधैं रहने निश्चित छ ।
इजरायलको लगातारको आक्रमणले खाडीमा इरानको इज्जतमा आँच पुगेको मत छ । इजरायली आक्रमणमा परी इरानबाहिर रहेको इरानी गठबन्धनका कैयौँ ठूला नेता मारिएका कारण पनि इरान कमजोर बनेको हो । हिजबुल्लाह र हमास लगभग नेतृत्वविहीन अवस्थामा छन् । यहीबेला इरान इजरायलसँग पूर्ण युद्धमा जान सक्दैन । फेरि इजरायल र इरान युद्धमा गए अमेरिका मिसिने पक्का छ ।
इरानका लागि मात्र होइन, इजरायलका लागि पनि युद्ध महँगो साबित हुनेछ । गाजा र लेबनानमा युद्ध नजितिसकेको इजरायलले इरानसँग पनि युद्ध सुरु गरे उसका लागि परिस्थिति भयावह बन्नसक्छ । एकै पटक तीनतिर युद्ध लड्न इजरायलसँग पर्याप्त सैनिक छैनन् । इजरायलसँग भएको सैनिक संख्या एक लाख ७० हजार हो । इजरायलसँग साढे चार लाख जगेडा सैनिक त छन्, तर तिनको परिचालन सहज छैन ।
कसको सैन्य क्षमता कति ?
जनसंख्या र भूगोलका आधारमा इरान इजरायलभन्दा निकै ठूलो छ । १६ लाख ४८ हजार १ सय ९५ वर्गकिमि क्षेत्रमा फैलिएको इरानको जनसंख्या करिब ९ करोड छ । २२ हजार १ सय ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको इजरायलको जनसंख्या ९४ लाख छ ।
भौगोलिक हिसाबले इजरायल र इरानबीचको हवाई दूरी १ हजार ७ सय २४ किलोमिटर छ । यस्तो अवस्थामा दुवै देशले एकअर्कामाथि आक्रमण गर्नका लागि सबैभन्दा सहज भनेको क्षेप्यास्त्र प्रहार नै हो । इरान पश्चिम एसियाकै सबैभन्दा ठूलो र विविधतायुक्त क्षेप्यास्त्र विकास गर्ने देश हो । इरानसँग कम्तीमा तीन हजार बलिस्टिक क्षेप्यास्त्र छन् ।
क्षेप्यास्त्रसँगै दुवै देशले एकअर्कामाथि आक्रमण गर्न ड्रोनको प्रयोग गर्ने गरेका छन् । इरानसँग छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने ड्रोन पनि छन् । इजरायलले भने विभिन्न देशबाट क्षेप्यास्त्र आयात गर्ने गरेको छ । इजरायलको हातहतियार आपूर्तिकर्ता अमेरिका हो । अमेरिकी सहयोगमा नै इजरायल प्राविधिक रूपमा विश्वकै दक्ष सेना बनेको मानिन्छ । इजरायलले आयात गर्ने हातहतियार मध्ये करिब ६९ प्रतिशत अमेरिकी हुन् ।
त्यस्तै, अमेरिकाले दुई देशबीच भएको सम्झौताअनुसार इजरेललाई वार्षिक सैन्य सहायताका रूपमा ३ अर्ब ८ करोड अमेरिकी डलर दिने गरेको छ । अनुदानअन्तर्गत इजरायलले आक्रमणका लागि हालसम्मकै उत्कृष्ट मानिएको ‘एफ–३५ जोइन्ट स्ट्राइक फाइटर’ विमान किन्ने गरेको छ । इजरायलले अमेरिकासँग त्यस्ता ७५ वटा विमानको सम्झौता गरेकोमा ३० वटा पाइसकेको छ ।
इरानको भन्दा इजरायलको रक्षा खर्च बढी छ । अघिल्लो वर्ष इजरायलको रक्षा बजेट १९ अर्ब अमेरिकी डलर थियो भने इरानको ७ अर्ब ४ करोड मात्र थियो । इजरायलसँग १ लाख ७० हजार र इरानसँग ६ लाख सैनिक छन् । इजरायलको प्रतिरक्षा प्रणालीका मेरुदण्ड ‘आइरन डोम’ र ‘एरो’ हुन् । यिनै प्रणालीमार्फत इजरायलले आफूमाथि प्रहार गरिएका क्षेप्यास्त्रलगायतका हतियारहरू निस्तेज पार्ने गरेको छ । इरानको प्रतिरक्षा प्रणाली भने प्राविधिक रूपमा इजरायलको भन्दा कमजोर छ । इजरायलसँग युद्धका लागि प्रयोग गर्न सकिने ३ सय ४० वटा सैन्य विमान छन् । इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने ‘एफ–१५’ जेट विमान, राडार छल्न सक्ने ‘एफ–३५’ जेट विमान र तीव्र गतिमा आक्रमण गर्न सक्ने हेलिकोप्टरहरू छन् । तर इरानसँग ३२ वटा मात्र लडाइँमा प्रयोग गर्न सकिने विमान छन् । यस आधारमा हवाई आक्रमणका लागि इजरायल इरानभन्दा बढी क्षमतावान् देखिन्छ । इरानी जलसेनासँग २ सय २० वटा पानीजहाज छन् भने इजरायलसँग ६० वटा मात्र छन् ।
इजरालसँग परमाणु अस्त्र भएको ठानिन्छ । तर उसले त्यसको प्रस्ट रूपमा केही उल्लेख गरेको छैन । तर इरानसँग त्यस्ता अस्त्र नरहेको ठानिएको छ ।
प्रतिक्रिया