इराकस्थित अमेरिकी सैन्य बेसमा तेस्रो हमला, चार जना घाइते


बग्दाद – इरान तथा अमेरिकाबीचको तनावकाबीच आइतबार फेरी एक पटक अमेरिकी सैन्य बेसमा हमला गरिएको छ । इराकको अल बलादस्थित अमेरिकी एयरबेसमा ८ रकेट प्रहार गरिएको छ । जसमा ४ घाइते भएका छन् । घाइते मध्ये २ इराकी अधिकारी र २ एयरम्यान रहेका छन् ।

समाचार संस्था एएफपीले यो विषयमा जानकारी दिएको हो । यो हमलाको सम्बन्धमा कुनै पनि समूह वा संगठनले कुनै जिम्मेवारी लिएको छैन । यद्यपि अमेरिकाले भने इराकमा इरान समर्थित समूहले यो हमला गरेको आरोप लगाएको छ ।

पछिल्लो सयममा विश्वभरीनै इरान तथा अमेरिकाबीचका तनावमा केन्द्रीत भएको छ । दुवै देशबीच युद्धको खतरा भएको देखिएको छ । यो भन्दा पहिले इरानले इराकमा रहेका अमेरिकी तथा गठबन्धन सेनाको ठेगानामा दर्जन भन्दा बढी मिसाइलले आक्रमण गरेको थियो ।

अमेरिकी ठेगानामा ८ रकेट प्रहार
समाचार संस्था एएफपीका अनुसार इराकको अल–बलाद एयरबेसमा अमेरिकी सैन्य ठेगानामा ८ रकेट प्रहार गरिएको छ । जसमा ४ व्यक्ति घाइते भएका छन् । अल बलाद एयरबेस इराकको एफ–१६ लडाकु विमानको मुख्य एयरबेस हो । इराकले आफ्नो हवाई क्षमता अपग्रेड गर्नका लागि अमेरिकासँग यी विमान खरिद गरेको थियो ।

सैन्य सुत्रका अनुसार यो बेसमा अमेरिकी एयरफोर्स तथा कन्ट्रयाक्टरको सानो दस्ता रहेको छ । तर गत साता अमेरिका र इरानबीच चुलिएको तनावका कारण धेरैजसोलाई यहाँबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement