इराकमा सरकार विरोध प्रदर्शनमा ९३ को मृत्यु


बग्दाद – इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९३ जनाको ज्यान गएको बताए ।

उहाँले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९७८ जना घाइते भएको पनि जानकारी दिनुभयो । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीका अनुसार हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए  । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement