इरानका सर्वोच्च नेताकी भान्जीको विश्व समुदायलाई आह्वान: तेहरानसँग सम्बन्ध तोड्नू


एजेन्सी – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी भान्जी तथा प्रख्यात अधिकारबादी कार्यकर्ताले विदेशी सरकारहरूलाई तेहरानसँग सम्बन्ध तोड्न आह्वान गरेकी छिन् ।

सेप्टेम्बरमा प्रहरी हिरासतमा रहेकी युवतीको मृत्युपछि देशभर फैलिएको हिंसा नियन्त्रण गर्न सरकारले चरम दमन गरिरहेका बेला फरीदेह मोरादखानीले यस्तो आह्वान गरेकी हुन् । इन्जिनियरसमेत रहेकी मोरादखानीका दिवंगत बुबा एक प्रमुख प्रतिपक्षी व्यक्तित्व थिए । उनले अयातोल्लाह खामेनीकी बहिनीसँग विवाह गरेका थिए ।

मोरादखानीले आह्वान गरेको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएको छ । मानव अधिकार कार्यकर्ता न्युज एजेन्सी (एआरएएनए)ले उनलाई २३ नोभेम्बरमा गिरफ्तार भएको जनाएको थियो । ‘ स्वतन्त्र मानिसहरू, हामीसँग रहनुहोस् र आफ्नो सरकारहरूलाई तेहरानकाे यो हत्यारा शासनलाई समर्थन गर्न बन्द गर्न भन्नुहोस्’, मोरादखानीले भिडियोमा भनेकी छिन, ‘यो शासन आफ्नो कुनै पनि धार्मिक सिद्धान्तप्रति वफादार छैन । बल र शक्ति कायम राख्न बाहेक सरकारलाई कुनै नियम थाहा छैन ।’

सेप्टेम्बरको तेस्रो सातादेखि फैलिएको हिंसामा ४५० जना प्रदर्शनकारी मारिएको एआरएएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement