खामेनेईपछिको इरान : कस्तो हुनेछ नयाँ राजनीतिक व्यवस्था ?

खामेनेईपछिको इरान : कस्तो हुनेछ नयाँ राजनीतिक व्यवस्था ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामाण्डु – इस्लामिक गणराज्य इरान नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको छ । इरानी जनता अमेरिकी हवाई आक्रमणमा मारिएका आफ्ना पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई उत्तरपूर्वी इरानस्थित उनको गृहसहर मशहदमा अन्तिम श्रद्धाञ्जलिसहित दफन गर्ने तयारीमा व्यस्त थिए ।

खामेनेईको अन्त्येष्टिमा विश्वभरबाट मानिसहरू सहभागी भए । करोडौं इरानी नागरिक श्रद्धाञ्जलि दिन सडकमा उत्रिए । तर उनका छोरा तथा उत्तराधिकारी मुज्तबा खामेनेई भने अझै सार्वजनिक रूपमा देखिएका छैनन् ।

फेब्रुअरी २८ मा इरान युद्धको सुरुवातमा भएको अमेरिकी हवाई आक्रमणमा उनका पिताको मृत्यु भएको थियो भने मुज्तबा स्वयं पनि गम्भीर घाइते भएका थिए, जसका कारण उनको अनुहार विकृत भएको बताइएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि मुज्तबा खामेनेई इस्लामिक गणराज्यका तेस्रो सर्वोच्च नेता बनेका छन् । तर आफ्ना पिताको शोकमा आयोजित कुनै पनि आधिकारिक कार्यक्रममा उनी सार्वजनिक रूपमा उपस्थित भएनन् ।

इरानमा भएको यो सत्ता परिवर्तन केवल सर्वोच्च नेताको फेरबदल मात्र होइन । वास्तवमा, यो अली खामेनेईको करिब चार दशक लामो शासनकालमा क्रमशः संस्थागत रूपमा गरिएको गहिरो परिवर्तनको परिणाम हो ।

राजनीतिक विश्लेषक रेजा तालेबीका अनुसार खामेनेईले बिस्तारै इस्लामिक गणराज्यको सम्पूर्ण शक्ति संरचनालाई पुनर्गठन गरेका थिए । उनले भने, ‘आयातोल्लाह रुहोल्लाह खोमेनीले १९७९ को क्रान्तिपछि व्यक्तिगत प्रभाव र क्रान्तिको वैधतामा आधारित शासन प्रणाली स्थापना गरेका थिए । तर अली खामेनेईले सत्ता सम्हालेपछि योजनाबद्ध रूपमा त्यस संरचनालाई भित्रैबाट परिवर्तन गर्न थाले ।’

तालेबीका अनुसार पछिल्ला ३७ वर्षमा प्रमुख राजनीतिक निर्णयहरूमा ठूला धार्मिक गुरु र शिया धार्मिक शिक्षालयहरूको प्रभाव निरन्तर घट्दै गयो । यसको स्थान सुरक्षा निकाय, सर्वोच्च नेताको कार्यालय तथा त्यससँग आबद्ध राजनीतिक र सैन्य सञ्जालले लिन थाले, जसका कारण सम्पूर्ण राज्य संरचनामा उनीहरूको प्रभाव उल्लेखनीय रूपमा बढ्यो ।

राष्ट्रपतिको भूमिका खुम्चिँदै

यस परिवर्तनले इरानका निर्वाचित संस्थाहरूको भूमिका पनि कमजोर बनाएको छ । तालेबीका अनुसार राष्ट्रपतिको निर्वाचन अहिले पूर्वनिर्धारित राजनीतिक सीमाभित्र हुने प्रतिस्पर्धामा सीमित हुन थालेको छ ।

उनले भने, ‘फरक–फरक विचारधाराका राष्ट्रपतिहरूले घरेलु नीतिमा केही स्वतन्त्रता पाए पनि विदेश नीति, परमाणु कार्यक्रम वा क्षेत्रीय रणनीतिजस्ता महत्त्वपूर्ण विषयमा उनीहरूको अधिकार निकै सीमित रह्यो ।’

अली खामेनेईको निधनपछि छ दिनसम्म सञ्चालन गरिएको राजकीय शोक अवधिमा इस्लामिक गणराज्यका तीन जीवित पूर्वराष्ट्रपति–हसन रुहानी, महमुद अहमदिनेजाद र मोहम्मद खातामी मध्ये कोही पनि सत्ता नेतृत्वसँग देखिएनन् । यसको सट्टा सरकारी तस्बिरहरूमा सुरक्षा निकाय, विशेषतः इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का कमाण्डरहरू र वर्तमान राष्ट्रपति मसुद पेजेशकियानलाई प्रमुख रूपमा प्रस्तुत गरिएको थियो ।

सामान्यतया पेजेशकियान र मुज्तबा खामेनेईबीच निकट कार्यसम्बन्ध रहेको मानिन्छ । अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न भएको वार्ता र सम्झौतामा उनीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ ।

फेब्रुअरी २८ मा सुरु भएको युद्ध करिब छ सातापछि कमजोर युद्धविरामसँगै रोकिएको थियो । त्यसपछि कूटनीतिक वार्ताको प्रक्रिया अघि बढ्यो, जसलाई अन्ततः मुज्तबा खामेनेईले पनि स्वीकृति दिएका थिए ।

यसअघि सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको बयानअनुसार मुज्तबा सिद्धान्ततः वार्ताको विपक्षमा थिए । तर सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका राष्ट्रपति पेजेशकियानले इरानी जनताको अधिकार र ‘एक्सिस अफ रेजिस्टेन्स’का हितको रक्षा गरिने विश्वास दिलाएपछि उनी वार्तामा सहमत भएका थिए ।

राष्ट्रपति पेजेशकियानसँगै आईआरजीसीका पूर्वकमाण्डर तथा संसद्का सभामुख मोहम्मद बाघेर कालीबाफले पनि अमेरिकासँगको वार्तामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

जुन १४, २०२६ मा अमेरिका र इरानले व्यापक सम्झौताका लागि तयार पारिएको ‘मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयू) को प्रारम्भिक मस्यौदामा सहमति जनाएका थिए ।

तर हालै होर्मुज जलडमरूमध्यमा तनाव बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ताको भविष्यप्रति शंका व्यक्त गरेका छन् । साथै, उनले आफ्नो आगामी रणनीतिबारे स्पष्ट संकेत दिएका छैनन् ।

इरानी विदेश तथा सुरक्षा मामिलाका विज्ञ हमिदरेजा अजीजीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानले एमओयूको धारा–५ मा उल्लेखित ‘इस्लामिक रिपब्लिक अफ इरानले आवश्यक व्यवस्था गर्नेछ’ भन्ने वाक्यांशलाई होर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्पूर्ण सर्त निर्धारण गर्ने अधिकार इरानसँग मात्रै रहेको अर्थमा व्याख्या गरिरहेको छ ।’

इरानले होर्मुज जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रणलाई सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सौदाबाजीको साधनका रूपमा हेर्छ । त्यसैले तेहरान आफ्नो सहमतिबिना कुनै वैकल्पिक समुद्री मार्ग विशेषतः ओमानको समुद्री क्षेत्र हुँदै अमेरिका वा कुनै अन्तर्राष्ट्रिय संस्थाको संलग्नतामा बन्ने मार्ग स्थापित नहोस् भन्ने चाहन्छ ।

अमेरिकासँग बढ्दो टकरावमा आईआरजीसीले निर्णायक भूमिका खेलेको छ । फ्रान्सस्थित अनुसन्धानकर्ता मुज्तबा नजाफीका अनुसार अमेरिका, इजरायल र इरानबीचको युद्धले आईआरजीसीको राजनीतिक तथा सामाजिक प्रभाव र आत्मविश्वासलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ ।

के सत्ता संघर्ष अझै जारी छ ?

यो संकटले नरमपन्थी गुटहरूको प्रभाव बढेको संकेत भने दिँदैन । यस समूहमा सन् २०१५ को परमाणु सम्झौतामा हस्ताक्षर गरेका पूर्वराष्ट्रपति हसन रुहानीका समर्थकहरू पनि पर्छन् ।

नजाफीका अनुसार आगामी दिनमा रिभोलुसनरी गाड्र्सभित्रै शक्ति संघर्ष चर्किने सम्भावना धेरै छ । इरानको भविष्य ठूलो हदसम्म यही आन्तरिक प्रतिस्पर्धाले निर्धारण गर्नेछ ।

उनको मूल्याङ्कनमा वर्तमान सत्तारूढ समूहले आफ्नो शक्ति बाहिरका उदारवादी नेताहरूसँग सम्झौता गर्ने वा उनीहरूलाई ठूलो राजनीतिक अवसर दिने कुनै आवश्यकता देखेको छैन ।

अब हेर्न बाँकी छ इस्लामिक गणराज्यको शक्तिशाली पुरानो सत्ताधारी समूह मुज्तबा खामेनेईको नेतृत्वमा एकजुट भएर देशलाई नयाँ दिशातर्फ अघि बढ्न दिनेछ कि गम्भीर रूपमा घाइते भएका भनिएका मुज्तबा स्वयं शक्तिकेन्द्रहरूको प्रभावमा सीमित रहनेछन् ।