केहि दिन शान्त रहेको मध्यपूर्वमा फेरि तनाव, अमेरिकी सैन्य अड्डामा इरानले गर्‍याे ‘अप्रत्याशित’ हमला

केहि दिन शान्त रहेको मध्यपूर्वमा फेरि तनाव, अमेरिकी सैन्य अड्डामा इरानले गर्‍याे ‘अप्रत्याशित’ हमला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी सेनाका अनुसार इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलमाथि अचानक आक्रमण गर्ने प्रयास गर्दै धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यसले केही समयदेखि रोकिएको अमेरिका–इरानबीचको सैन्य तनाव पुनः चर्किएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार मंगलबार अमेरिकी पूर्वी समयअनुसार साँझ ५ः४५ बजे आक्रमण भएको थियो। सेन्टकमले सबै क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरी निष्क्रिय पारिएको जनाएको छ। इरानले भने आफूले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको बीबीसीले जनाएकाे छ।

यसैबीच सेन्टकमका अनुसार अमेरिका र साउदी अरेबियाली सेनाले इरान समर्थित समूहहरूको ड्रोन आक्रमणको प्रतिकारस्वरूप इराकमा रहेका इरान समर्थित आतंकवादीका विभिन्न लक्ष्यमा संयुक्त हवाई आक्रमण गरेका छन्।

इरानले यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि दुवै पक्षबीच वार्ताको वातावरण बनाउन केही दिनदेखि प्रत्यक्ष सैन्य कारबाही रोकिएको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरलाई पनि निशाना बनाएको इरानी समाचार संस्था तस्निमले जनाएको छ।

सेन्टकमका अनुसार अमेरिका र साउदी अरेबियाले पूर्वी इराकमा रहेका आतंकवादी समूहका हतियार भण्डारण तथा रसद केन्द्रहरूमा संयुक्त आक्रमण गरेका हुन्।

अमेरिकी सेनाले पछिल्लो ७२ घण्टामा आईआरजीसीको निर्देशनमा भएका ३० भन्दा बढी ड्रोन आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको जनाएको छ।

सेन्टकमले इरानी सेना तथा उसका समर्थित समूहलाई यस्ता आक्रमण तत्काल रोक्न चेतावनी दिँदै अन्यथा थप अमेरिकी सैन्य प्रतिक्रिया हुने जनाएको छ।

यसअघि मंगलबार साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा रहेका पेट्रोलियम पूर्वाधारलाई लक्षित गरी पठाइएका ड्रोनहरू आफ्नो सेनाले खसालेको जनाएको थियो।

साउदी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले ती ड्रोनहरू इरान समर्थित इराकी मिलिसिया समूहले प्रक्षेपण गरेको आरोप लगाएका छन्।

नयाँ सैन्य तनाव सुरु हुनुभन्दा एक दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरै सकारात्मक वार्ता भइरहेको बताएका थिए। त्यसबेला दुवै पक्षबीच लगातार तीन दिनसम्म कुनै प्रत्यक्ष सैन्य आक्रमण भएको थिएन।

त्यसअघि अमेरिका लगातार १३ रातसम्म इरानको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरिरहेको थियो। ती आक्रमणमा सुरुङ र पुलहरू ध्वस्त पारिएको तथा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

होर्मुज जलडमरूमध्यको पहुँच र नियन्त्रण वार्ताको मुख्य विवादित विषय बनेको छ, यद्यपि इरानले औपचारिक रूपमा कुनै वार्ता भइरहेको स्वीकार गरेको छैन।

यस घटनापछि विश्व तेल बजारमा पनि असर परेको छ। द्वन्द्व बढ्दै गएमा होर्मुज जलडमरूमध्यमार्फत हुने ऊर्जा आपूर्तिमा थप अवरोध आउन सक्ने चिन्ताले बुधबार बिहान तेलको मूल्य बढेको हो।

एसियाली कारोबारमा अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुड तेलको मूल्य ४.३ प्रतिशतले बढेर प्रति ब्यारेल ८७.७० अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ४.२ प्रतिशतले बढेर प्रति ब्यारेल ८२.६२ अमेरिकी डलर पुगेको छ।

यसैबीच पछिल्लो सैन्य घटनाक्रम इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वासिङ्टन भ्रमणसँगै भएको हो। उनले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए भने इरानप्रति कडा धारणा राख्ने अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा पनि सहभागी भएका थिए।