इरानको तीन बुँदे प्रस्ताव-अमेरिकाले सर्त माने सात दिनभित्र होर्मुज जलमार्ग खुलाउछौँ

इरानको तीन बुँदे प्रस्ताव-अमेरिकाले सर्त माने सात दिनभित्र होर्मुज जलमार्ग खुलाउछौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानले अमेरिकाले तेहरानको शान्ति प्रस्ताव स्वीकार गरे सात दिनभित्र रणनीतिक महत्त्वको होर्मुज जलडमरूबाट तेल र अन्य सामान नियमित ढुवानी खुलाउने प्रस्ताव गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार कतारमार्फत अमेरिकासमक्ष सातदिने ठोस योजना पठाइएको बताएका हुन्।

उनले आवश्यक सर्त पूरा भए होर्मुज जलमार्ग खोल्दै समुद्री यातायात सामान्य अवस्थामा फर्काउन सकिने बताएका छन्।

अब निर्णय अमेरिकाको हातमा छ,ु इस्लामिक सहयोग संगठन (ओआईसी)को मन्त्रीस्तरीय बैठकमा अराघचीले भने।

इरानका सर्त

इरानले होर्मुज जलमार्गमा नियमित जहाज आवागमन पुनःसञ्चालन गर्न अमेरिकासँग तीन प्रमुख विषयमा सहमति खोजेको छ।

-इरानमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने।

-इरानी तेल निर्यातमाथिका प्रतिबन्ध खुकुलो पार्नुपर्ने र रोक्का गरिएका केही इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने।

-गाजा र लेबनानमा इजरायलका सैन्य कारबाहीसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरानको प्रस्तावलाई ुअस्वीकार्यु भन्दै इन्कार गरेका थिए। उनले होर्मुज जलडमरूमाथि अमेरिकाको बलियो रणनीतिक पकड रहेको दाबी गरेका थिए।

युद्ध चर्किने जोखिम उस्तै

अराघचीले युद्धभूमिबाट यो समस्या समाधान नहुने बताउँदै धम्कीका आधारमा शान्ति स्थापित गर्न नसकिने बताएका छन्।

यसैबीच, अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्न सक्ने संकेत दिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनका अधिकारी र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले ट्रम्पलाई शक्तिशाली परम्परागत बम प्रयोग गर्न सकिने विकल्पबारे जानकारी गराएका छन्।

तर ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्रमशः नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचन र अक्टोबर २७ को इजरायली संसदीय निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने संकेत दिएका छन्।

तेलको मूल्य बढ्यो

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि बमबारी सुरु गरेपछि इरानले होर्मुज जलडमरू बन्द गरेको थियो।

विश्वको समुद्री मार्गबाट हुने तेल तथा तरल प्राकृतिक ग्यास ९एलएनजी० व्यापारको करिब एकचौथाइ यही मार्गबाट हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ।

शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का अनुसार होर्मुज जलडमरू पार गर्ने क्रममा दुई तेल ट्यांकरमा विस्फोटपछि आगलागी भएको थियो।

यसअघि समुद्री सुरुङमा बिछ्याइएको विस्फोटक पदार्थमा ठोक्किएर एउटा कन्टेनर जहाज डुबेको थियो । अर्को मालवाहक जहाज क्षतिग्रस्त भएको खबर सार्वजनिक भएको थियो।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०९।८६ डलर पुगेको थियो, जुन पाँच महिनायताकै उच्च मूल्य हो। अमेरिकी डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

अमेरिका र इरानबीच सहमति भए तेल आपूर्तिमा देखिएको जोखिम घट्न र मूल्यमा परेको दबाब कम हुन सक्ने विश्लेषकहरूको आकलन छ।