इरानले किन गर्‍यो भारतको आलोचना ?


एजेन्सी – इन्डोनेसिया, पाकिस्तान तथा टर्कीपछि अब इरानले पनि दिल्ली दंगाको विषयलाई लिएर आपत्ती जनाएको छ ।

इरानका विदेश मन्त्री जावेद जरीफपछि सर्वोच्च धार्मिक नेता आयतुल्लाह खामेनीले पनि भारतमा मुसलमानको बिरुद्ध सुनियोजित हिंसा गरेको आरोप लगाएका छन् ।

जावेद जरीफले ट्वीट गर्दैै भनेका छन्, “भारतमा मुसलमानको बिरुद्धमा प्रायोजित हिंसाको इरान निन्दा गर्छ । भारत र इरान पहिलेदेखिनै मित्र हुन् । म भारत सरकारलाई आग्रह गर्छु कि उसले सबै नागरिकको सुरक्षा गरोस् ।”

यस विषयमा आपत्ती जनाउदै जरीफले भारतमा रहेका इरानका राजदुतलाई बोलाएर आपत्ती प्रकट गरेका छन् । राजदूत अली चेगेनीलाई एक बिरोध पत्र बुझाइएको छ ।

तर यसपछि आयतुल्लाह खामेनीले पनि आफ्नो बयान दिएका छन् । उनले भारतमा मुसलमानको बिरुद्धमा अत्याचार भएको र विश्वभरीका मुसलमान यसबाट दुःखी भएको बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, “भारतमा मुसलमानमाथिको नरसंहारका कारण विश्वभरीका मुसलमानको चित्त दुखेको छ । भारत सरकारले कट्टर हिन्दु र उसको पार्टीलाई रोक्नुपर्छ र इश्लामी विश्वबाट भारतलाई एक्ल्याउने अवस्थाबाट बच्नु आवश्यक छ र मुसलमानको नरसंहार रोक्नु आवश्यक छ ।”

भारतले यो बयानप्रति प्रत्यक्ष जवाफ दिएको छैन । तर, भारतका विदेश मन्त्री जयशंकरले ग्लोबल बिजनेस सम्मेलनमा भारतको बिचार व्यक्त गरेका छन् ।

दिल्ली दंगामा इरानको बिचारलाई लिएर सोधिएको प्रश्नमा उनले भने, “शायद हामीलाई थाहा भइरहेको छ कि हाम्रो सच्चा मित्र को हो ।”

यो भन्दा पहिले जम्मु–कश्मीरबाट धारा ३७० हटाउने र नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर टर्की, मलेसिया र पाकिस्तानले आपत्ती जनाइसकेका छन् । भारतले यसलाई आफ्नो आन्तरिक मामिला भएको भन्दै खारेज गर्दै आएको छ ।

तर इरानकोतर्फबाट हालसम्म यो विषयमा कुनै बयान आएको थिएन । इरानले भारतको आन्तरिक मामिलामा टिप्पणी गरेको यो पहिलो पटक हो ।

भारत र इरानको सम्बन्ध हेर्ने हो भने यी दुई देशबीचको सामाजिक, आर्थिक र व्यापारिक सहयोगको इतिहास धेरै पुरानो रहेको छ ।

इरानले भारतको उर्जा आवश्यकताको ठूलो हिस्सा पुरा गर्दै आएको छ भने भारतले पनि इरानका लागि औषधी, हेभि इक्विपमेनट, कल–पुर्जा तथा अन्नको निर्यात गर्दै आएको छ ।

तेल आयातको मामिलामा भारत चीनपछि दोस्रो ठूलो मुलुक हो र दुवै मुलक एक अर्काको आन्तरिक मामिलामा टिप्पणी गर्नबाट जोगिदै आएका छन् । यस्तो अवस्थामा इरानले गरेको आलोचनाको के अर्थ रहन्छ र दुवै देशको सम्बन्ध अब कतातिर जानेछ ।

यस्तो अवस्थामा इरानमा भारतको अमेरिकासँगको सम्बन्धमा झुकावको विषयलाई लिएर शंका उत्पन्न भएको यो विषयसँग जानकार कमर बताउछन् ।

उनी भन्छन्, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणबाट इरानलाई यस्तो लागेको छ कि आगामी दिनमा भारतले अमेरिकी नीतिलाई अगाडि बढाउनेछ ।”

हालै राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएका थिए । भारतमा उनको भव्य स्वागत गरिएको थियो । केही समय पहिले कासिम सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच युद्धको जस्तो माहोलको सिर्जना भएको थियो ।

भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल किन्दै आएको छ र यसको ठूलो हिस्सा इरानबाट हुने गरेको थियो । तर अमेरिकी प्रतिबन्धपछि यसमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement