इरानले आफ्ना बैज्ञानिकको हत्यापछि बनायो नयाँ कानून


एजेन्सी – इरानको संसद्ले संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप संवर्द्धन गर्ने कानुनलाई स्वीकृत गरेको छ । उक्त विधेयक अनुसार सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्द्धनलाई पुनः सुरु गर्नुपर्नेछ ।

सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले संवर्द्धन गर्न सकिने बुँदा थियो ।

संसद्ले पारित गरेको कानुन पालन गर्न अब इरानी सरकारले त्योभन्दा निकै बढी युरेनियम संवर्द्धन गर्नुपर्नेछ ।

इरानी राष्ट्रपति हसन रुहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका छन् । इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएपछि त्यहाँको संसद्को यस्तो निर्णय आएको हो ।

गत शुक्रवार राजधानी तेहरान बाहिरको एउटा सडकमा मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो ।

इरानले उक्त घटनामा इजरेल र देशबाट निष्काशित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रयोग गरी गोली हानेर हत्या गरेको बताएको छ । इजरेलले सार्वजनिक रूपमा उसको संलग्नताबारे लागेको आरोपबारे बोलेको छैन ।

फख्रिजादेहले इरानको परमाणु कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहनेमा जोड दिने गरेको छ ।

तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ । पश्चिमा शक्ति उसलाई परमाणु हतियार बनाउनबाट रोक्न चाहन्छन् ।

इरानको नयाँ कानुनले के भन्छ ?

इरानको गार्डियन काउन्सिलले अनुमोदन गरेको कानुन अन्तर्गत तेहरानले सन् २०१५ को परमाणु सम्झौताका युरोपेली हस्ताक्षरकर्ताहरूलाई दुई महिनाको समय दिन सक्नेछ ।

त्यसबीच उनीहरूले सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएदेखि इरानको तेल र वित्तिय क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउनु पर्नेछ ।

यदि ती प्रतिबन्धहरू दिइएको समयसीमामा खुकुलो नपारिएमा सरकारले युरेनियम संवर्द्धन कार्यक्रमलाई २० प्रतिशतले बढाउनुपर्नेछ । इरानले दुईवटा केन्द्रहरू नाटाज र फोर्डोउमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अनुगमनमा रोक

उक्त कानुनले संयुक्त राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई उक्त क्षेत्रको निरिक्षण गर्नमा पनि रोक लगाउँछ । उक्त कानुन अनुमोदन हुनुपूर्व राष्ट्रपति रुहानी संसद्सँग सहमत भएका थिएनन् ।

अमेरिकी भूमिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५ को परमाणु सम्झौताबाट मे २०१८ मा हात झिकेका थिए र तेहरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लगाएका थिए ।

राष्ट्रपति चुनिएका जो बाइडनले बराक ओबामाद्वारा गरिएको समझदारी जस्तै उक्त सम्झौतामा अमेरिकालाई फर्काउने बताएका छन् ।

उक्त सम्झौताको कडा रूपमा पालन भए तेहरानमाथि प्रतिबन्ध पनि हटाउने उनले बताएका छन् ।

गत वर्ष जुलाईमा इरानले सम्झौता अनुसार गर्न पाइने युरेनियम संवर्द्धनको उच्चतम मात्रा ३.६७ प्रतिशतलाई तोडेको थियो र त्यसलाई बढाएर ४.५ प्रतिशतमा कामय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement