युद्धका बीच इरानले बनायो नयाँ व्यापारिक मार्ग जोड्ने महत्वपूर्ण रेल सञ्जाल

युद्धका बीच इरानले बनायो नयाँ व्यापारिक मार्ग जोड्ने महत्वपूर्ण रेल सञ्जाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान-अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाइरहेको नाकाबन्दी र पश्चिमी देशहरूको आर्थिक दबाब बढिरहेका बेला इरानले दक्षिणी बन्दरगाह चाबहारलाई अफगानिस्तानको सीमासम्मको जाहेदानसँग जोड्ने महत्वपूर्ण रेलमार्ग पूरा गरेको छ।

रसियन सञ्चारमाध्यम आरटीकाका अनुसार, ७३० किलोमिटर लामो रेलमार्गले भारतको सहयोगमा विकास भइरहेको चाबहार बन्दरगाहबाट छिमेकी देशहरूमा सामान ढुवानी गर्न तेहरानलाई थप सहजता दिनेछ।

यो रेलमार्ग भारत, इरान र रुसको समर्थन रहेको रणनीतिक अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर (आईएनएसटीसी) को महत्वपूर्ण कडी हो।

इरानको व्यापक योजना आफ्ना दक्षिणी बन्दरगाहलाई क्यास्पियन सागरसम्म र त्यसभन्दा परका यातायात सञ्जालसँग जोड्ने हो। यसले अफगानिस्तान, मध्य एसिया र रुसका बजारसम्म पहुँच दिने विशाल स्थलमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

चाबहार मार्गबाट सामान ढुवानी गर्दा अहिलेको स्वेज नहरको मार्गभन्दा दूरी ४० प्रतिशत छोटो र खर्च ३० प्रतिशत कम हुने बताइएको छ।

३९ सुरुङ, २०१ पुल र ३३ स्टेसन रहेको यो रेलमार्ग आगामी दुईदेखि तीन महिनाभित्र सञ्चालनमा आउने अपेक्षा छ। यसले वार्षिक करिब ७० लाख टन सामान र १० लाख यात्रु ओसार्न सक्छ।

यो मार्गले भारतलाई क्षेत्रीय प्रतिद्वन्द्वी पाकिस्तानको भूभाग छल्दै मध्य एसियामा पहुँच दिन्छ। तर प्रतिबन्ध र नाकाबन्दी चुनौतीका रूपमा कायम छन्। रेलमार्गको व्यावसायिक सम्भावना बढाउन भारत र इरान भन्सार, ढुवानी व्यवस्थापन र सञ्चालनसम्बन्धी समस्या समाधानमा सक्रिय रहेका छन्।

यो नयाँ स्थलमार्गबाट मध्य एसिया र रुस भारतका लागि नजिक पर्छन् । ‘स्थलमार्ग प्रयोग गर्दा मध्य एसिया र रुस भारतका लागि नजिक पर्छन्,’ इरानका लागि भारतका पूर्वराजदूत डी.पी. श्रीवास्तवले आरटीसँग भने। देश विभाजनपछि पाकिस्तान शत्रुतापूर्ण छिमेकी बनेकाले भारतले उक्त स्थलमार्गको पहुँच गुमाएको उनले बताए।

चाबहार स्वतन्त्र व्यापार–औद्योगिक क्षेत्रका प्रमुख कार्यकारी मोहम्मद सईद अरबाबीका अनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा पछिल्ला केही महिनामा चाबहार हुँदै हुने पारवहन व्यापार दस गुणा बढेको छ।

चाबहार–जाहेदान रेलमार्गले भारतलाई मध्य एसिया र रुसका बजारमा पुग्न पाकिस्तानी भूभाग छल्न दिनेछ

नयाँ रेलमार्गले पारवहन बढाउने र लगानी, उत्पादन, निर्यात तथा पुनःनिर्यातका नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ छ। यसले बन्दरगाहलाई महत्वपूर्ण पारवहन केन्द्रका रूपमा थप बलियो बनाउने उनले बताए।

अमेरिकासँगको सैन्य तनावका कारण समुद्री ढुवानी गतिविधि घटे पनि भारत बन्दरगाह परियोजनाबाट पछि नहटेको उनले उल्लेख गरे। अरबाबीले भने, ‘भारत सक्रिय रूपमा संलग्न छ’, उनले थपे, ‘बन्दरगाह परियोजनामा शत्रु राष्ट्रबाहेक सबै देशको लगानीलाई हामी स्वागत गर्छौँ।’