हर्मुज तनावबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

हर्मुज तनावबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेलमन्त्री मोहसेन पाकनेजादले राजीनामा दिएका छन् ।

राष्ट्रपति मसुद पेजेस्कियानले उनको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनी (एनआइओसी) का प्रमुख हमिद बोवार्डलाई कार्यवाहक तेलमन्त्री नियुक्त गरेका हुन् ।

इरानी सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार पाकनेजादले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्न प्रस्ताव गरेका थिए । राष्ट्रपतिले सुरुमा पदमै रहन आग्रह गरेको भए पनि उनले अडान नछाडेपछि राजीनामा स्वीकृत गरिएको हो । राष्ट्रपति पेजेस्कियानले उनको प्रयास र सेवाको प्रशंसा गरेका छन् ।

इरानको तेल क्षेत्रमा नेतृत्व परिवर्तन अमेरिकी दबाब बढिरहेका बेला भएको हो । मध्यपूर्व युद्धका क्रममा हर्मुज जलघाँटी महत्त्वपूर्ण समुद्री मार्ग बनेको छ । यो जलमार्गबाट युद्धअघि विश्वव्यापी कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब २० प्रतिशत ढुवानी हुने गरेको थियो ।

इरानी तेल आम्दानी रोक्नु अमेरिकी आर्थिक रणनीतिको प्रमुख उद्देश्य बनेको छ । अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार इरानको अटोमोटिभ र रेल उद्योगलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अर्थमन्त्री स्कट बेसेन्टले प्रतिबन्धले इरानको युद्ध सञ्चालन गर्ने वित्तीय क्षमता कमजोर पार्ने बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्ने महत्त्वाकांक्षा लगभग त्यागिसकेको दाबी गरेका छन् । इरानको ऊर्जा क्षेत्रमा अमेरिकी आर्थिक दबाब बढिरहेका बेला पाकनेजादको राजीनामाले तेल मन्त्रालयमा नयाँ नेतृत्व आएको छ ।