इराकको राष्ट्रपतिमा रशिद निर्वाचित


एजेन्सी – इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नयाँ राष्ट्रपति चयनका लागि त्यहाँको संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।

रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए ।

नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो । अहिले ७८ वर्ष उमेर पुगेका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement