जनतासामु गरिएका प्रतिवद्धतालाई पुरा गर्छौं : रक्षामन्त्री पोखरेल


काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौँ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले जनमतको सम्मान गर्दै जनतासामु गरिएका आफ्ना प्रतिबद्धता पूरा गरिने बताए ।

‘सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ’, उनले भने । सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सय गन्तव्य स्थानमध्ये एउटा भएकाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माण अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गत वर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यस वर्ष पनि रु एक–एक करोड छुट्याएको जानकारी दिए ।

नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउन सकिने बताए । उनले चालु आर्थिक वर्ष २०७६÷७५ का लागि रु १५ करोड ८४ लाख ५३ हजार बजेटबाट पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, उद्यान निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधारलागायत क्षेत्रमा प्राथमिकताका साथ काम गरिने बताए ।

काठमाडौँ जिल्लामा पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बूढानीलकण्ठ नगरपालिका सफल भएको छ । विसं २०७३ मङ्सिर १६ गते शिलान्यास गरिएको नवनिर्मित भवन २२३२।९२ वर्ग्मिटरमा फैलिएको छ । नगरको वडा नं ८ हात्तीगौँडामा अवस्थित भवनको कूल लागत रु १० करोड नौ लाख ४३ हजार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement