साउदीका मन्त्रीसँग उपप्रधानमन्त्रीको टेलिफोन वार्ता, विदेशमा रहेका नेपाली ल्याउने तयारी


काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाल सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र संयुक्त अरब इमिरेट्स सरकारका रक्षा राज्य मन्त्री मोहम्मद अहमेद अल बोअर्दीबीच टेलिफोन वार्ता भएको छ ।

आज भएको वार्तामा दुवै देशका सरकारबाट हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरू सम्बन्धमा छलफल भएको छ । साथै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन दुई देशबीच पारस्परिक सहयोग गर्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

वार्ताको क्रममा गत अप्रिल ६ का दिन प्रधानमन्त्री केपी शर्मा ओली र शेख मोहम्मद बिन जायद अल नाह्यान, अबुधाबीका राजकुमार र युएई सशस्त्र बलका उप सर्वोच्च कमान्डरबीच भएको टेलिफोन वार्ताको संस्मरण गर्दै उपप्रधानमन्त्रीले संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा तथा रोजगारमा रहेका नेपाली नागरिकहरूलाई कोभिड–१९ संक्रमणको कठिन अवस्थामा संयुक्त अरब इमिरेट्स सरकारले स्वास्थ्य सुरक्षा लगायतका सुविधा उपलब्ध गराइरहेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

साथै¸ उनले संक्रमणको कारणले प्रभावित नेपाली श्रमिकहरूलाई आगामी दिनमा रोजगारीको निरन्तरताका लागि समेत अनुरोध गरे । संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा¸व्यवसायमा संलग्न रही हाल लकडाउनका कारण घर फर्कन चाहेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउन आवश्यक सहजीकरणको लागि संयुक्त अरब इमिरेट्स सरकारबाट भएको अनुरोधलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको बताउँदै उनले देशभित्र आवश्यक पूर्वाधार¸ स्वास्थ्य परीक्षण, क्वारेन्टिइन लगायतका सुविधाहरूको व्यवस्था गरेर विदेशमा रहेका नेपालीहरूलाई मुलुकभित्र ल्याउने तयारी भइरहेको कुरा बताए ।

उनले संयुक्त अरब इमिरेट्स सरकारले नेपाल सरकारलाई कोभिड–१९ रोगको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकोमा समेत धन्यवाद व्यक्त गरे । साथै, उपप्रधानमन्त्रीले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले चालेको लकडाउन, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान र अन्य सार्वजनिक यातायातको निलम्बन लगायतका अन्य प्रावधानहरूबाट कोरोना संक्रमणलाई भयावह बन्न नदिन ठूलो सहयोग पुगेको कुरा बताए ।

वार्ताका क्रममा संयुक्त अरब इमिरेट्स सरकारका रक्षा राज्य मन्त्री मोहम्मद अहमद अल बोवार्डीले नेपाली श्रमिकहरूको उचित सुरक्षाका लागि संयुक्त अरब इमिरेट्स सरकारले मिलाइरहेको आवश्यक प्रबन्धहरूबारे जानकारी गराउँदै कोभिड–१९ रोगको संक्रमणले मानव स्वास्थ्यको सुरक्षा तथा अर्थतन्त्रमा सिर्जना गरेका चुनौतीहरूलाई सम्बोधन गर्न दुवै देशका सरकारले मिलेर काम गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याए ।

टेलिफोन वार्ताका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement