‘लकिरका फकिर’जस्तो कार्यशैलीले परिणाम आउन सक्दैनः उपप्रधानमन्त्री पोखरेल


काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन नगरे परिणाम आउन नसक्ने बताएका छन् ।

रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा पोखरेलले व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’जस्तो भयो । क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जानु अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना वेलावेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरू आउटडेटेड हुन्छन् ।’

हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति हुन नसकेको बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरू आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनको भनाइ छ । आयोजनाहरूको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए ।

रक्षामन्त्री र रक्षासचिवबीच आर्थिक वर्ष ०७७/७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष ०७७/७८ मा नेपाली सेनाअन्तर्गत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरूसम्बन्धी कार्यसम्पादन सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement