राजनीतिक आडमा हुने भ्रष्टाचारलाई छुट दिइँदैनः ईश्वर पोखरेल


काठमाडौं – उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आडमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट नदिइने दृढता व्यक्त गरेका छन् ।

उनले भने, ‘जुनसुकै पद र ओहोदामा बसेको भए पनि उनीहरुले कुनै पनि प्रकारको छुट पाउनु हुँदैन । उनीहरुलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउनैपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७६ कार्यक्रममा ठूला र साना माछाको गोश्वारा टिप्पणी हुने गरेको भन्दै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याएर आयोगले व्यवहारतः नै साना र ठूलाका बीचमा रहेको भेदको खण्डन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्नसमेत भ्रष्टाचारको नियन्त्रण नै पहिलो सर्त भएको बताए ।

सदाचारी समाज निर्माणका लागि व्यक्ति, घर तथा समाजबाटै शुरु गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरिरहेको प्रयास सकारात्मक र सार्थक रहेको टिप्पणी गरे । उनले आयोगले अगाडि सारेको संस्थागत रणनीतिक योजनाले पनि भ्रष्टाचार नियन्त्रणमा सघाऊ पु¥याउने विश्वास व्यक्त गरे ।

मुख्य सचिव लोकदर्शन रेग्मीले सामाजिक विचलनमा पर्ने प्रवृत्ति समाज सुधार र विकासका लागि समेत घातक रहेको भन्दै त्यसलाई निरुत्साहन गर्न सबैको साथ र सहयोग जरुरी रहेको बताए । उनले नेपालको संकल्प पूरा गर्ने अभियानमा आफूहरु लागेकाले पनि त्यसलाई सफल बनाउन भ्रष्ट आचरणमा नियन्त्रण हुनुपर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल पर्नु दुःखद रहेको भन्दै कानूनी सुधार एवम् संस्थागत जवाफदेहितालाई बढावा दिनुपर्ने बताए ।

उनले विकास निर्माणको काममा हुने अनियमितता, मेडिकल कलेजले विद्यार्थीमाथि गरिरहेको ज्यादती नियन्त्रण तथा सरकारी कार्यालयमा हुने भ्रष्ट आचरणको नियन्त्रणमा सरकार र आयोगले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र संघले भ्रष्टाचार नियन्त्रणका लागि अभिसन्धि पारित गरेको दिनको स्मरणमा आज संसारभर नै भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement