एमालेको नेतृत्वमा सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता हो : ईश्वर पोखरेल

एमालेको नेतृत्वमा सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता हो : ईश्वर पोखरेल


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको राष्ट्रिय राजनीति सहज नभएको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले भूराजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका संकट झेल्न बाध्य बनेको बताए ।

‘यसलाई चिर्न राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता छ, राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भूराजनीतिक संवेदनशीलताबाट सिर्जित समस्यासँग हामी जुध्न सक्छौं, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा गर्न सक्छौं,’ उनले भने ।

सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता रहेको उनले बताए । त्यसको नेतृत्व एमालेले गरिरहेको उनले दाबी गरे । अहिले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धनकारी शक्ति एक ठाउँमा पोको परेर बसेको पोखरेलले बताए ।

एमाले आर्थिक समृद्धि र विकासको पक्षमा रहेको र गठबन्धन त्यसलाई भताभुङ्ग पार्ने पक्षमा रहेको पोखरेलको भनाइ छ ।

नेकपा एमाले राष्ट्रिय स्वाभिमान र विकासको स्पष्ट दृष्टिकोणको साथ अघि बढेको उनले स्पष्ट पारे । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषय आज गठबन्धनले धुमिल बनाउने काम गरेको भन्दै उनले आलोचना गरे ।

प्रमुख प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी भारतका विदेशमन्त्री नेपाल आउँदा सरकारले गोप्य सम्झौता गरेको उनको भनाइ छ । सम्झौताका नाममा राष्ट्रिय स्वाधीनतामा आँच आउने काम सरकारले गरेको पोखरेलले बताए । ‘यसलाई नेकपा एमालेले अत्यन्त गम्भीर रूपमा लिएको छ,’ उनले भने ।

नेपालको अतिक्रमित भूमिलाई नेपालले फिर्ता लिनुपर्छ भनेर एमालले संविधान संशोधन गरेको भए पनि आज ती विषयलाई धुमिल बनाउने काम गरिएको उनले बताए । गठबन्धनले त्यसको मर्म विपरीत काम गरिरहेको उनले बताए ।

सामाजिक सद्भाव विकास गर्नुपर्छ भन्ने एमालेको मान्यतामा आँच पुर्‍याउने काम गठबन्धनको तर्फबाट भएको पोखरेलले बताए । सामाजिक सद्भाव कायम राख्ने कुरा आजको राष्ट्रिय आवश्यकता रहेको उनले स्पष्ट पारे । गठबन्धन त्यसप्रति अनुत्तरदायी मात्र होइन, सामाजिक सद्भाव भड्काउन उद्यत रहेको पोखरेलले बताए ।