एमालेविरुद्ध डरलाग्दो हमला हुँदैछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेविरुद्ध डरलाग्दो हमला हुँदैछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेविरुद्ध डरलाग्दो हमला भइरहेको बताएका छन् ।

नेकपा एमाले ओखलढुङ्गाको लिखु–काठमाण्डु सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले नेपाललाई कमजोर बनाउन चाहने शक्तिले एमालेमाथि हमला गरिरहेका बताए ।

‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छ भने त्यो एमाले हो,’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको कारणले एमालेविरुद्ध प्रहार नभएको बताए । ‘कोहीकोहीले साथीहरूले भनिदिनुहुन्छ, ओलीजीले यताउता बोल्दिनुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्, अनि हाम्रा कतिपय भलाद्मी साथीहरूलाई हो जस्तो लाग्छ, उहाँले त्यस्तो बोलेको, कटाक्ष गरेको, बिम्ब लगाएर बोलेको कारणले, उहाँले प्रतिकमा बोलेको कारणले त्यस्तो भएको हो ?’ उनले प्रश्न गरे ।

पोखरेलले एमाले राष्ट्रियताको पक्षमा दृढ अडानका साथ उभिने पार्टी भएको बताए । त्यसैले एमालेमाथि आक्रमण भइरहेको उनको भनाइ छ । ‘एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी हो, जुन शक्तिका मतियारहरूले नेपाललाई कमजोर बनाउन चाहन्छन्, तिनीहरूले एमालेमाथि हमला गर्दैछन्,’ उनले भने ।

राष्ट्रिय हितको पक्षमा छिमेकीसँग आँखा जुधाएर कुरा गर्नुपर्ने उनको स्पष्ट धारणा छ । ‘छिमेकीसँग मुख चलाउन पनि हुँदैन, घुँडा टेक्न त हुँदै हुँदैन, आफ्नो राष्ट्रिय हितमा छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ,’ उनले भने ।

आर्थिक विकास र समृद्धिका एजेण्डा बोकेर अघि बढेको पार्टी एमाले भएको बताउँदै नेपालमा आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू एमालेविरुद्ध लागेका उनले सुनाए । लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पनि एमालेमाथि आक्रमण भएको पोखरेलले बताए । कुनै एउटा जातिको बहुमत नभएको देश नेपालमा सामाजिक सद्भाव भड्काउन चाहनेहरू एमालेमाथि आक्रामक बनेका पोखरेलले बताए ।

एमाले जन्मसिद्ध अधिकारको आधारमा शासन चलाउने कुराको विरुद्धमा उभिने बताए । वंश परम्परामा आधारित शासन सत्तालाई एमालले नमान्ने भन्दै योग्यताको आधारमा लोकतान्त्रिक विधिबाट आउनेले शासन चलाउने उनले स्पष्ट पारे ।