आइएसआईका पूर्व प्रमुख बगदादीकी श्रीमति पक्राउ


एजेन्सी – टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरेको छ । यसअघि मंगलबार बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको टर्कीले यो पटक भने बगदादीकी श्रीमतिलाई पक्राउ गरेको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले जानकारी दिएकाे बीबीसीमा उल्लेख छ ।

बगदादी गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा आत्मघाती बिस्फोटमा मारिएका थिए । अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो । बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।

इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ । अर्दोआनले टर्कीको राजधानी अंकारामा बगदादीकी श्रीमती पक्राउ परेको जानकारी दिएका छन् । टर्कीले उनका भिनाजुलाई पनि पक्राउ गरिएको अर्दोआनले जानकारी दिए ।

बगदादीविरुद्ध चलाईएको अभियानका लागि अमेरिकी अधिकारीको तर्फबाट जारी जानकारीतर्फ संकेत गर्दै अर्दोआनले भने, ‘बगदादीले एक सुरुङभित्र आफ्नै ज्यान लिएको अमेरिकाले बताएको छ । उनीहरुले यसका लागि अभियान नै चलाए । तर म पहिलो पटक यसको घोषणा गरिरहेको छु कि हामीले उनकी (बगदादी) की श्रीमतीलाई पक्राउ गरेका छौं र उनले बगदादीले झैं चिच्याउने कराउने गरिनन् ।’ अर्दोआनले थपे, ‘यसै गरी हामीले उनका दिदी र भिनाजुलाई पनि सिरियाबाट पक्राउ गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement