इजरायली हवाई आक्रमण : गाजामा बालबालिकासहित एकैदिन ४२ जनाको मृत्यु


एजेन्सी- गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको मुत्यु भएकाे जनाएकाे छ ।

आइतबार इजरायलले गरेकाे हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ। इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका थिए।

गाजास्थित प्यालेस्टाइनी हमास लडाकुहरूविरुद्ध इजरायलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्। शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन्।

सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए । गएको सोमबारदेखि इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्य गर्न अपील गरेका छन् ।

यस्तै गाजामा इन्धनको अभाव हुन सक्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ । मध्य पूर्वको शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघकी डेपुटी स्पेशल कोअडिनेटर लीन हास्टिङ्गसले गाजामा इन्धन आपूर्तिका अनुमति दिन इजरायलसँग अपील गरिएको बताएकी छन् ।

गाजाका अधिकारीहरूले भनेका छन्, पछिल्लाे इजरायली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको छ। गत सोमबारयता इजरायलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको  छ।

हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्। बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्। इजरायलले लडाइँ सकिनुअगाडि हमासविरुद्ध धेरै क्षति गराउन चाहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement