इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो


एजेन्सी- कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो ।

यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ । त्यस्तै इटाली शुक्रबार थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।

इटाली कोरोना भाइरसको संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि करिब २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।

स्पेनमा पनि एकैदिन ७७३ को मृत्यु

युरोपेली मुलुक स्पेनमा पनि शुक्रबार मात्रै ७७३ जनाको मृत्यु भएको छ भने थप ७ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार एक सय ३८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म संक्रमितको संख्या ६५ हजारभन्दा बढी पुगेको छ भने करिब ९ हजार निको भएका छन् ।

कोरोना भाइरसको नयाँ इपिसेन्टर मानिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करिब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप ३१२ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement