इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !


काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलका लागि एटलान्टाले भ्यालेन्सियाको आथित्य गरेको थियो र खेल मिलानको प्रसिद्ध सानसिरो मैदानमा भएको थियो । एटलान्टाको आफ्नै घरेलु मैदान पुनर्निर्माणबाट गुज्रिरहेको हुनाले उसले इन्टर र एसी मिलानको सानसिरोमा खेलेको थियो । फेब्रुअरी १९ मा भएको खेल हेर्न सानसिरोमा त्यस दिन ४४ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । गोरी के मान्छन् भने कम्तीमा यही खेलका कारण उनको सहर सबैभन्दा प्रभावित रह्यो ।

इटालीमा सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित यसै सहरमा छन् । अहिलेसम्म त्यहाँ ६ हजार ७ सय २८ भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । त्यहाँ मृत्युदर पनि अत्यधिक रहेको छ । एटलान्टा बेरगामो सहरकै क्लब हो र उसले पहिलोपल्ट च्याम्पियन्स लिग खेलिरहेको हो । यसअघि इटालीको घरेलु फुटबलमा खासै सफल नरहेको यस क्लबले पछिल्ला केही वर्ष भने राम्रो खेलिरहेको छ र यसैक्रममा यसपल्ट च्याम्पियन्स लिगको क्‍वाटरफाइनल पनि पुगिसकेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement