जाजरकोटी युवा क्षितिजको कविताले जित्यो गोपीको प्रथम पुरस्कार


काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गोपी’ले आयोजना गरेको कविता लेखन प्रतियोगितामा जाजरकोटका क्षितिज समर्पण (रामकुमार शाही) प्रथम भएका छन् ।

उनले लेखेको कविता ‘अस्थिपञ्जर बन्नुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको हो । पुरस्कार राशी ३० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका सहभागीहरुले ‘गोपी’ फिल्मको ट्रेलर हेरेर त्यसैमा आधारित स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले बुधबार गरेका हुन् ।

आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए । जाजरकोटको साविक पुन्मा गाविस–३, छिप्रेना हाल भेरी नगरपालिका–५ मा जन्मिएका क्षितिज अहिले काठमाडौँमा बसेर पत्रकारिता, साहित्य र कलाकारितामा संलग्न छन् ।

प्रतियोगितामा निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतीय पुरस्कार जित्न सफल भएका छन् । उनीहरुले क्रमशः २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् । विजेताहरुलाई आगामी हप्ता पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । सयौं युवालाई कविता लेख्न उत्प्रेरित गरेकोमा कविद्वय सुब्बा र पराजुलीले ‘गोपी’ फिल्मप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement