काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँ बसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।
काठमाण्डु उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थालहरूमा नि:शुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँ बसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले नयाँ बसपार्कसहित काठमाण्डु उपत्यकाको १९ स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।
‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धता अनुसार नि:शुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौं । यसलाई बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौं । सरकारले राजधानी काठमाण्डुसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्ने क्रममा काम गरिरहेको छ । दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेस क्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौं । सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडी लगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ,’ उनले भने ।
सरकारले सातै प्रदेशका राजधानीमा नि:शुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँशहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए ।
‘सरकारले सातै प्रदेशका राजधानीमा नि:शुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ । हाम्रो मुलुकका गाउँशहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने सन्दर्भमा आवश्यक काम भइरहेको नै छ,’ उनले भने ।
यसैबीच सञ्चारमन्त्री खरेले बुधबारै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् ।




प्रतिक्रिया