कश्मीर विवादमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक


एजेन्सी – कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रणरेखामा भारतीय सेनासँग भएको गोली हानाहानमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ। सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ।

पाँच भारतीय सैनिक पनि मारिएको पाकिस्तानको दाबीलाई भारतले खण्डन गरेको छ। भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता खोसेपछि सो क्षेत्र तनावग्रस्त छ।

जम्मु कश्मीरको विशेष दर्जा फिर्ता लिएसँगै उत्पन्न समस्याको समाधान गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने भएको छ। समाचार एजेन्सी एएफपीकाअनुसार सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले कश्मीर मुद्दामा छलफल गर्न आकस्मिक बैठक बोलाएको हो। सुरक्षा परिषदको बैठकको पहिलो एजेन्डा कश्मीर मुद्दा रहेको छ। बैठकमा भारत र पाकिस्तान सीमा क्षेत्रमा भएको गोलाबारीको समेत चर्चा हुने भएको छ।

भारत-पाकिस्तान बीच यसबीचमा भएका दोहोरो गोलीबारीमा सैनिक र गैरसैनिकको मृत्यु भएको थियो। जसमा दुवै मुलुकले एक अर्कालाई दोष दिँदै आएका छन्।  भारतले काश्मीरको विशेष दर्ता खोसेसँगै दुई देशबीचको विवाद तीव्र बन्दै गएको थियो जसको पछिल्लो पटक सीमानामा दोहोरो भिडन्त हुन थालेको हो। अनुच्छेद ३७० लाई निस्तेज गरेको भारतले जम्मु र कश्मीरमा मोबाइल, इन्टरनेट, ल्याण्डलाइनका सम्पूर्ण संचारलाई प्रतिबन्ध गरेको छ।

नियन्त्रणरेखा विवादित कश्मीर क्षेत्रलाई भारत र पाकिस्तानबीच छुट्ट्याउने सीमा हो।  पाकिस्तानको सेनाले ट्विटरमार्फत् एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, “भारतको कब्जामा रहेको जम्मू(कश्मीरको अनिश्चित अवस्थाबाट ध्यान हटाउन भारतीय सेनाले नियन्त्रणरेखामा गोलीबारी बढाएको छ। तीन पाकिस्तानी सैनिक शहीद भएका छन्।“पाकिस्तानले पाँच भारतीय सैनिकलाई मारिदिएको दाबीलाई भारतले अस्वीकार गरेको छ। पाकिस्तानले भनेको छ, “पाकिस्तानी सेनाले प्रभावकारी उत्तर दिएका छन्। पाँच भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन्। बङ्कर ध्वस्त पारिएको छ। दुवैतिरबाट सघन गोलीबारी जारी छ।“

प्रतिक्रिया दिनुहोस
Advertisement