जम्मू-कश्मीर हमला : भारतले पाकिस्तानलाई दियो एक्ल्याउंने चेतावनी


एजेन्सी – भारतको जम्मू-कश्मीर पलुवा जिल्लामा चरपन्थीले गरेको सुरक्षाकर्मीको गाडिमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप केहि समस्या देखिएको छ । जम्मू–कश्मीरको पुलवा जिल्ला लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो ।

एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी दिएको छ। भारतले उक्त हमलामा छिमेकीको संलग्नता भएको निर्विवाद प्रमाण भएको बताएको छ। तर सो प्रमाण उसले उपलब्ध गराएको छैन। पाकिस्तानले भने जैश-ए-मोहम्मदले जिम्मा लिएको सो हमलामा आफ्नो कुनै भूमिका नभएको बताएको छ। सो संगठन पाकिस्तानमा स्थित छ।

बिहीवार भएको उक्त आक्रमण कश्मीरमा दशकौँ यता भएका हमलामध्ये सबभन्दा घातक थियो। पाकिस्तानले प्रतिक्रिया स्वरुप इसलामाबादमा स्थित भारतीय उच्चायोगका कार्यकारी उप–उच्चायुक्त गौरव अहलूवालियालाई तत्काल हाजिर हुन भन्यो । रेडियो पाकिस्तानका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार अहलूवालियालाई बोलाएर पलुवामा आक्रमणलाई लिएर भारतले पाकिस्तानमाथि आधारहिन आरोप लगाएको बतायो ।

भारतका केन्द्रीय मन्त्री अरूण जेट्लीका अनुसार पाकिस्तानलाई अन्तर्रा्ष्ट्रिय समुदायबाट पूर्णत : अलग्याइदिन भारतले हरसम्भव कूटनीतिक कदम चाल्नेछ। तर पाकिस्तानका एक मन्त्रीले चाहिँ पहिले भारतले प्रमाण पेश गर्नु पर्ने बताए। उनले उक्त हमलाबारे अनुसन्धानमा पाकिस्तानले सघाउने पनि बताए।

सन् १९८० को दशकको अन्त्यदेखिनै भारत प्रशासित कश्मीरमा विद्रोह जारी छ। पछिल्ला वर्षहरूमा त्यहाँ हिंसात्मक घटनाहरूमा वृद्धि भएका छन्। भारत र पाकिस्तान दुवैले मुसलमान बहुल कश्मीरको पूरै भाग दाबी गर्छन् तर दुवैले केही भागमा मात्र नियन्त्रण गर्छन्। पहिलेका हमलाहरू पछि पनि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कारबाही गरेको थियो।

सोही कारण अहिले भारतले पाकिस्तान समेत सदस्य रहेको दक्षिण एसियाली देशहरूको संगठन सार्कभन्दा पाकिस्तान सदस्य नरहेको बिमस्टेक जस्ता क्षेत्रीय संगठनलाई बढ्ता प्रबर्धन गरिरहेको छ। भारत भन्छ पाकिस्तानले लामो समयदेखि जैश ए मोहम्मदका विद्रोहीहरूलाई उसले सुरक्षित शरण प्रदान गरिरहेको छ।

उसले सो संगठनविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध तथा त्यसका नेता मसूद अजहरलाई राष्ट्रसंघको सुरक्षा परिषदद्वारा आतंकवादी सूचीकृत गर्न माग गरेको छ। विगतमा पनि भारतले त्यस्ता प्रयास गरेको थियो तर पाकिस्तानको सहयोगी देश चीनले ती प्रयासमा बारम्बार भाँजो हालिदिएको थियो।

शुक्रवार एक सुरक्षा बैठकपश्चात सम्वाददाताहरूसँग बोल्दै जेट्लीले पाकिस्तानलाई जवाफदेही बनाउन भारत कटिबद्ध रहेको बताए। पाकिस्तानलाई सन् १९९६ देखि भारतले दिँदै आएको व्यापार सुविधा खारेज गरिएको उनले बताए। व्यस्त राजमार्गमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएका थिए ।

शुक्रवार राजधानी दिल्लीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाकारी तथा षडयन्त्रकारीहरूले महङ्गो मूल्य चुकाउनु पर्ने चेतावनी दिए। उनले सुरक्षाकर्मीहरूलाई उचित समय, उचित स्थान र उचित स्वरूपमा कारबाही गर्न आफूले अनुमति दिइसकेको बताए। विश्लेषकहरू मोदीको भनाइपछि अब भारतले कुनै न कुनै स्वरूपमा बदलाको कार्य गर्न सक्ने ठान्छन्।

तर ठूलो हिमपातका कारण हाल भारत सरकारसँग सीमित सैन्य विकल्प मात्र रहेको उनीहरू बताउँछन्। सन् २०१६ मा भारतीय सैनिक शिविरमा भएको हमलामा १९ सैनिक मारिएपछि दिल्लीले बदलास्वरूप पाकिस्तान प्रशासित कश्मीरमा पसेर सैन्य कारबाही गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement