सबै जनवर्गीय संगठनको एकता दुई साताभित्रै : नेता नेपाल


चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताए ।

जनताको चाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेता नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने समेत बताए । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको उनको भनाइ थियो । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको सरकारसँग गरेको भन्दै उनले अहिलेको वातावरण विकासका लागि अनुकूुल बनेको बताए ।

तीन तहको निर्वाचन सम्पन्न भएसँगै विकासका लागि वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै नेता नेपालले भने, “देशभित्र विकासको लहर ल्याउनुपर्छ भन्ने भावनाले वामपन्थी सरकार अघि बढेको छ ।” सोहीअनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको नेता नेपालले बताए ।

पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा आएको सुधारले पनि विकासका लागि वातावरण अनुकूल बनेको उनले बताए । सरकार भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको उनको भनाइ थियो । अहिलेको सरकारले सबै खालका अनुचित क्रियाकलाप रोक्ने उद्घोष गरेको भन्दै उहाँले यो पुरा हुने लक्ष्यमा रहेको बताए ।

सत्ताको दम्भले पार्टी बिग्रन सक्ने भन्दै त्यसबाट जोगाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । नेकपामा अहिले महिलाको प्रतिनिधित्व संविधानतः छैन नि भन्ने जिज्ञाशामा नेता नेपालले सबैको व्यवस्था महाधिवेशनबाट हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement