जनकपुरमा योगी आदित्यनाथलाई ड्रोनको गस्तीदेखि तीन तहको सुरक्षा घेरा


जनकपुर – रामजानकी विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट बुधबार आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भव्य स्वागतको तयारी गरिएको छ । आदित्यनाथ भारतको उत्तरप्रदेश लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ। जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसपालि विवाह पञ्चमी महोत्सवमा १० लाख भन्दा बढी संख्यामा श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ । अत्याधिक भीडभाड हुने र विभिन्न किसिमको घटना घट्न सक्ने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराको प्रयोग गरिने भएको छ भने अत्याधुनिक ¥यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी सोहि माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको छ । त्यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए ।

मुख्यमन्त्री योगी आदित्यनाथको धार्मिक भ्रमणलाई लिएर जानकी मन्दिर, बाह्रबिघा, प्रदेश सचिवालय रहेको मधेश भवन लगायत नगरका विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन्। सफाइमा नेपाली सेना, प्रहरी, स्थानीय तहका प्रतिनिधि लगायत सफाइ अभियन्ता जुटेका छन्।

यसरी विवाहपञ्चमी र मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका झण्डै तीन हजार ५ सय र सशस्त्र प्रहरीका एक हजार पाँच सय गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। योगी आदित्यनाथलाई तीन तहको घेरामा सुरक्षा दिइने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। नेपाली सुरक्षाकर्मी बाहेक योगी आदित्यनाथका केही विशेष सुरक्षा दस्तासमेत भारतबाटै आउने भएको छ।

त्यस्तै यसपालि विवाहपञ्चमी महोत्सवको लागि प्रदेश नम्बर २ को ८ वटै जिल्लाबाट करिब ५ हजारभन्दा बढी सुरक्षानिकायको परिचालन गरिएको छ । त्यस्तै, सादा पोसाकका प्रहरी तथा अनुसन्धानकर्मीहरु पनि भारी मात्रामा परिचालन गरिएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री आदित्यनाथका लागि भारतबाट बुलेटप्रुफ गाडी जनकपुर आइसकेको छ । यस बाहकेक विशेष सुरक्षामा ज्यामर सहित सातवटा अन्य गाडी भित्र्याइएको छ ।

मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय गरिएको छ । पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन जाने कार्यक्रम तालिका रहेको जनाइएको छ ।

दिवाभोज समापन पछि मुख्यमन्त्री आदित्यनाथ रंगभुमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयम्वरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement