जनप्रतिनिधि र कर्मचारीले रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता


दार्चुला – दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफैं लिन दशबुँदे प्रतिबद्धता जनाएका हुन् । दश वटा प्रतिबद्धताअन्तर्गत म स्वस्थ्य र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु जस्ता प्रतिबद्धता गरिएको छ ।

यस्तै म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु तथा म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह छाउपडी जस्ता सामाजिक कुरीति, कुसंस्कारहरु अनुसरण गर्दिन जस्ता प्रतिबद्धता गरिएको छ ।

यसैगरी म हिंसा तथा भेदभाव गर्ने छैन, कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य कार्यालयले प्रतिबद्धता कार्यक्रमका लागि सदरमुकाम खुलामञ्चबाट करीब डेढ किलोमिटर दौड कार्यक्रम गरी प्रतिबद्धता गराएको छ । यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुको रक्तचाप परीक्षण गरिएको छ ।

मर्निङ वाक गराएपछि उनीहरुको रक्तचापको अवस्था बुझ्नका लागि कार्यक्रमका सहभागीहरुको रक्तचाप परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताए । पछिल्लो समय मानिसको दैनिकी, खानपिन रहनसहन फेरिएको छ । जीवनशैलीमा आएको परिवर्तनका कारण स्वास्थ्यमा ठूलो लगानी खर्च भइरहेको छ । बिरामी भइसकेपछि हुने खर्च कम गर्नको निमित्त पनि यस्ता सन्देश प्रवाह हुने कार्यक्रम गरिएको उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement