शीर्ष नेताका कारण जसपा फूटको संघारमा, दोस्रो तहका नेता सक्रिय


काठमाण्डु – जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच समन्वय नहुँदा जसपा फुटको संघारमा पुगेको हो ।

पार्टीका समस्या समाधानका लागि भन्दै आइतबार अध्यक्षद्वय ठाकुर र यादवबीच वार्ता भएको थियो । तर, वार्ता सकारात्मक निष्कर्ष विहीन रुपमा टुंगिएको छ ।

अध्यक्ष ठाकुरले गत शुक्रबार आफू निकट सांसदहरुलाई भक्तपुरको उक रिसोर्टमा लगेको भन्दै अध्यक्ष यादव पक्ष असन्तुष्ट बन्दै आइरहेको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर सांसदलाई रिसोर्टमा राखेको भन्दै यादव पक्ष रुष्ट बनेको हो ।

त्यस्तै जसपाभित्र विवादको अर्को पाटो वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्नु हो । ठाकुर पक्षका सांसदहरुको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको भन्दै उपेन्द्र यादवले विज्ञप्ति नै जारी गरेका थिए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीको अन्तरिम विधान–२०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्थाबमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेको जानकारी गराउँछौं ।’

जसपाको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । कार्यकारिणी सदस्यहरु गंगा श्रेष्ठ, शरदसिंह भण्डारी, मोहम्मद ईस्तियाक राईलगायतका नेताहरु विवाद समाधानका लागि सक्रिय भएका हुन् । उनीहरुले पार्टीलाई एक ढिक्का बनाउन दुवै अध्यक्षहरुलाई संवादमा राख्नेलगायतका प्रयासहरु गरिरहेका छन् ।

कार्यकारिणी सदस्य राईले पार्टीलाई एक ढिक्का बनाउन आफूहरु लागिरहेको बताए । उनले व्यक्तिगत इगोका कारण पार्टी विभाजन हुन नहुने भन्दै दुवै पक्षलाई मिलाउने प्रयत्न भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement