खुमलटारमा प्रधानमन्त्री ओली निकट नेतालाई जनार्दनले भने – पार्टी एकताको वेलाको कागज छ की हरायो ?


काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको समस्याको मुख्य कारण नै प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । प्रधानमन्त्री ओली निकट नेताहरुसंग भेटमा पार्टी एकताको लागी आफुले उदारता र त्याग देखाएको भन्दै त्यसलाई अर्का अध्यक्ष ओलीले कमजोरी ठानेको बताए ।

उनले सरकारको पछिल्लो गतिविधीले पार्टी सक्किन लागेको भनाई राखेका थिए । प्रचण्डले आफ्नो गल्ती कमजोरी भएको खण्डमा सच्याउन तयार रहेको भएपनि अर्का अध्यक्ष ओलीमा त्यो भावना हुनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओली पक्षिय नेताहरुले मिल्नुको विकल्प नभएको भन्दै दुवै अध्यक्ष मिलेर जान सुझाव दिएका छन् । उनिहरुले पार्टीलाई सहमतीकै आधारमा अघि बढाउनुपर्ने सुझाव दिएको स्रोतको दावी छ । ओली निकट नेताहरुले अंक गणितको कुरा नगर्न पनि प्रचण्डसंग आग्रह गरेका थिए ।

‘अंक गणित भन्ने चिज तलमाथी भइरहन्छ, तपाईहरुको पक्षमा अहिले गणित छ,पछि नरहन् सक्छ । त्यसैले सहमतिको आधारमा अघि बढ्नुको विकल्प छैन् । ’ ओली पक्षिय नेताहरुको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

वैठकमा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी एकताको बेला भएको सहमती प्रधानमन्त्रीबाट उल्लंघन भएको आरोप लगाए । उनले उक्त सहमतीपत्र समेत हराइसकेको हुन् सक्ने व्यंग्य वैठकमा गरेका थिए ।

‘पार्टीमा मिलेरै नै अघि बढौ भन्ने छलफल भएको छ । त्यसका लागी दुई अध्यक्षबीच छलफल गरेर अघि बढ्नुपर्छ भन्ने कुरा भएको छ,’ बैठकपछि नेकपा नेता पम्फा भुसालले काठमाडौंपाटीसंग भनिन् ।

प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट हटाउने तयारी भइरहेको वेला उनि निकट नेताहरु सक्रिय भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा एक मत रहेका बेला प्रधानमन्त्री निकट नेताहरु बिहिवार प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्ड निवास पुग्नेमा पार्टी महासचिव विष्णु पौडेल,रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पांच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत थिए ।

त्यसैगरी प्रचण्डसंगको वैठकमा उनि निकट नेताहरु जनार्दन शर्मा,वर्षमान पुन र पम्फा भुसाल सहभागी थिए । प्रधानमन्त्री ओलीले ११ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय भएकै बेला १२ बजे मन्त्रिपरिषदको वैठक समेत बोलाएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले ओली निकट नेताहरुलाई बोलाएर बिहिवार छलफल सुरु गरेका हुन् । बुधवार प्रधानमन्त्री ओलीले निकट नेता र मन्त्रीहरुलाई बोलाएर पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गरेका थिए । त्यसैगरी प्रचण्डसहित ३० जना स्थायी समिति सदस्यले मंगलवार झम्सीखेलमा भेला गरेर प्रधानमन्त्रीलाई पदबाट राजीनामा गराउने निष्कर्श निकालेका थिए ।

नेकपाको जारी स्थायी समिति वैठकमा प्रधानमन्त्री ओलीमाथी एक पद छोड्न दबाव बढेको छ । प्रधानमन्त्री ओली पार्टी र सरकारको नेतृत्व गर्न असफल भएको भन्दै उनलाई पद छोड्न दबाव बढेको हो । तर, प्रधानमन्त्री ओलीले भने दुवै पद नछोड्ने संकेत देखाएपछि प्रचण्डसहित वरिष्ठ नेताहरुले उनिमाथी दबाव बढाइरहेका छन् ।

बिहिवारको वैठकमा समेत प्रधानमन्त्री सहमतीमा नआए प्रचण्ड र माधव नेपाल निकट मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी छ । गृहमन्त्री रामबहादुर थापा,वनमन्त्री शक्ति वस्नेत,उर्जामन्त्री वर्षमान पुन,कृषीमन्त्री घनश्याम भुषालले समेत प्रधानमन्त्री ओलीको साथ छोडिसकेका छन् । उनिहरुले पार्टीले बोलाएकै दिन राजीनमा दिन तयार रहेको नेतृत्वलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement