ऊर्जामन्त्रीको जलविद्युत् क्रान्ति : हरेक नेपालीलाई बनाइँदैछ शेयरको मालिक


काठमाडौं –  ऊर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले दीर्घकालीन सोच अनुसार कार्यान्वयनमा आएको ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमले हरेक नेपालीलाई जलविद्युत् शेयरको मालिक बनाउने भएको छ ।

कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारी नारालाई साकार पार्न ऊर्जामन्त्री पुनले सिर्जनात्मक सक्रियता जनाउँदै कार्यक्रमलाई कार्यान्वयनको चरणमा पुर्याएका छन् ।

कार्यक्रममार्फत् सरकारले नेपाली नागरिकलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत् आयोजनाको शेयर बिक्री गर्ने भएको छ । मन्त्रालयले जनताको जलविद्युत् आयोजना कार्यक्रमअन्तर्गत ३ हजार ४ सय ७९ मेगावाट बराबरका १९ जलविद्युत् आयोजनामा नेपालीलाई शेयर दिएर जलविद्युत्को मालिक बनाउन लागेको हो । जलविद्युत् उल्लेख्य नाफा हुने क्षेत्र भएकाले यसबाट शेयरधनी नेपालीलाई उच्च लाभ समेत प्राप्त गर्न सक्नेछन् ।

ऊर्जामन्त्री पुनले मन्त्रालयमा पदभार ग्रहण गरेपछि श्वेतपत्रमार्फत् ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारा अन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाको लगानी ढाँचामा सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने छ । शेयरमार्फत् जनताले १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ लगानी गर्न पाउने छन् । जनतालाई शेयर दिने गरी प्रस्ताव गरिएको १९ वटै आयोजना सरकारी संस्थान र कम्पनीले निर्माण अघि बढाउन लागेको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए ।

जलविद्युत्को लगानीबाट उच्च प्रतिफल
जलविद्युत् उत्पादनको पर्याप्त सम्भावना रहेको नेपालमा जलविद्युत्को लगानीबाट पर्याप्त नाफा लिन सकिन्छ । ऊर्जामन्त्रीले कार्यभार सम्हालेपछि जलविद्युत्को बजार सुनिश्चित गरिसकेका छन् । बंगलादेशसँग प्रत्यक्ष खरिद सम्झौता गरेर तथा भारतले पनि खरिद ऐनमा संशोधन गरेर नेपालमा उत्पादित जलविद्युत्को बजार फराकिलो भएको छ । निजी लगानीकर्ताले उत्पादन गरेको जलविद्युत् समेत सरकारले नै खरिद गर्ने गरी सुनिश्चितता गरिएको छ । आगामी १० वर्षभित्र नेपालको विद्युत् उत्पादनलाई ह्वात्तै बढाउन ऊर्जामन्त्री पुनले आकर्षिक नीति कार्यान्वयन गरिरहेका छन् ।

बजारको सुनिश्चितता र उच्च मागका कारण जलविद्युत्को लगानीबाट पर्याप्त लाभ लिन सकिने र उपलब्ध स्रोतसाधनको उपयोग समेत हुने भएकाले ऊर्जा मन्त्रालयले जनताको लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । जलविद्युत्को शेयरमा एक पटक लगानी गर्दा निरन्तर लाभ प्राप्त भइरहने भएकाले सरकार र जनता दुवै पक्षलाई कार्यक्रमबाट प्रत्यक्ष लाभ मिल्नेछ । नेपालीको लगानीमा उत्पादित विद्युत् विदेश निर्यात गर्दा चरम व्यापार घाटालाई कम गर्न समेत सहयोग पुग्ने छ ।

जलविद्युत् विकास कम्पनी स्थापना
जनताको समेत शेयर लगानीमा जलविद्युत् उत्पादन गर्न सरकारले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापना गरेको छ । कम्पनी अन्तर्गत रहने १९ वटा आयोजनाको कुल लागत ६ खर्ब ९५ अर्ब ८० करोडमध्ये स्वँपुजी (इक्विटी) २ खर्ब ८ अर्ब ७४ करोडमध्ये ५१ प्रतिशत सरकारी संस्थान वा कम्पनीबाट र ४९ प्रतिशत सर्वसाधारणबाट लगानी जुटाउने लक्ष्य राखिएको छ । १९ जलविद्युत् आयोजनाका लागि आवश्यक स्वँपुजीमध्ये ४९ प्रतिशत जनतालाई शेयर दिने गरी आधारपत्र तयार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलले बताए ।

‘सबै आयोजनाको स्वँपुजीमध्ये १० प्रतिशत प्रभावित स्थानीयबासी र अन्य ३९ प्रतिशत सर्वसाधारणलाई उपलब्ध गराइने छ,’ उनले भने । अवधारणा पत्रमा १ नम्बर प्रदेशमा ६, २ नम्बरमा २, गण्डकी प्रदेशमा ४, ५ नम्बरमा १, कर्णालीमा ३ र सुदूरपश्चिममा ३ आयोजना अघि बढाउने उल्लेख गरिएको छ । जनताको जलविद्युत् कार्यक्रम अघि बढाउन प्रधानमन्त्रीको संरक्षकत्व र ऊर्जामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय कार्यक्रम संयोजन समिति रहने अवधारणापत्र तयार गरिएको छ ।

विपन्न जनतालाई सहुलियत ऋण
कम्पनी मोडलमा स्थापना गरिने आयोजनामा सर्वसाधारणले एक सयदेखि १० हजार कित्तासम्मका लागि शेयरमा आवेदन गर्न पाउने छन् । जनताको जलविद्युत् आयोजनाको लागि तत्काल लगानी गर्न नसक्ने लक्षित तथा विपन्न वर्गलाई सहुलियत ब्याज दरमा विपन्न वर्ग कर्जा अन्तर्गत ऋणको व्यवस्था गरिने छ । ऋणबाट आर्थिक अवस्था कमजोर भएका जनताले समेत जलविद्युत्मा लगानी गरेर शेयरको मालिक बन्न पाउने छन् ।
दीर्घकालीन महत्त्व
जनताको शेयर लगानीले जलविद्युत् उत्पादन गर्दा जनता नै मालिक बन्नेछन् भने जलविद्युत् गृह निर्माणका लागि लगानी खोज्न विदेशीलाई गुहार्नुपर्ने र विदेश चहार्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । स्वदेशी लगानीमै जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने वर्षाैदेखिको जनआवाजलाई ऊर्जामन्त्री अनन्तले सम्बोधन गरेका छन् ।

जनआवाजलाई सम्बोधन गर्नै मात्रै होइन, कार्यक्रमले राष्ट्रिय उत्पादन बढाउन र खेर गइरहेको जलको उपयोगलाई समेत सम्बोधन गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा रहेको जलविद्युत्को मागलाई आपूर्ति गर्न सकेमा नेपालको व्यापार घाटा कम गर्न र विदेशी मुद्रा नेपाल भित्र्याउन सहयोग पुग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र जनताको समृद्धिको सपना साकार पार्न जनताको लगानी कार्यक्रमले समेत योगदान गर्नेछ ।

उर्जा मन्त्रालयमा बुधवार ‘‘जनताको जलविद्युत आयोजना कार्यक्रमको बारेमा जानकारी दिंदै उर्जामन्त्री बर्षमान पुन ।

जनताको लगानीमा बन्ने आयोजना
अपर अरुणः ७२५ मेगावाट
इखुवाखोलाः ३० मेगावाट
किमाथांका अरुणः ४८२ मेगावाट
घुन्साखोलाः ७२ मेगावाट
सिम्बुवा खोलाः ७० मेगावाट
अरुण–४ः ३७२ मेगावाट
तामाकोसी–५ः ९६ मेगावाट
त्रिशूली–३ बीः ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोलाः ६० मेगावाट
बूढीगण्डकी प्रोक–१ः १०० मेगावाट
बूढीगण्डकी प्रोक–२ः २४० मेगावाट
बूढीगण्डकी (क): ७५ मेगावाट
भेरीबबईः ४८ मेगावाट
चैनपुर सेतीः २१० मेगावाट
अपर सेतीः ५० मेगावाट

प्रतिक्रिया दिनुहोस
Advertisement