काठमाण्डु – पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
यस भूकम्पका कारण राजधानी टोकियोलगायतका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै कम्तीमा पाँच जना घाइते भएका छन्। तर यसबाट सुनामीको कुनै खतरा नरहेको अधिकारीहरूले बताएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय अनुसार आइतबार बिहान गएको उक्त भूकम्प दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा केन्द्रित थियो। संयुक्त राज्य भूगर्भ सर्वेक्षणले यसको परिमाण ५।८ रेक्टर स्केल मापन गरेको छ।
अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार टोकियोको उत्तरपूर्वमा पर्ने इबाराकी, चिबा र सैतामा प्रान्तमा कम्तीमा पाँच जना घाइते भएका छन्।
सम्भावित क्षतिको हद मूल्यांकन गर्न सरकारले एक कार्यदल गठन गरेको प्रधानमन्त्री साने ताकाइचीले बताएकी छन्।
मौसम विभागले आगामी साता, विशेष गरी आगामी दुईदेखि तीन दिनसम्म ५ भन्दा कम म्याग्निच्युडका साना भूकम्पहरू जाने सम्भावना रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यसअघि गत महिना जापानको दक्षिणी टापु क्युशुको कुमामोटो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा ठुलो जनधनको क्षति भएको थियो।




प्रतिक्रिया