त्रिभुवन विमानस्थल सुधारका लागि जापानले दियो २ अर्ब ७६ करोड अनुदान

त्रिभुवन विमानस्थल सुधारका लागि जापानले दियो २ अर्ब ७६ करोड अनुदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को हवाई यातायात नियन्त्रण सुविधा सुधारका लागि जापान सरकारले २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

जापान सरकारले परियोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अनुदान दिने निर्णय गरेको हो। अनुदानसम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’ मा नेपालका लागि जापानी राजदूत माएदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।

अनुदानबाट विमानस्थलको पुरानो हवाई यातायात नियन्त्रण टावरको पुनःस्थापना तथा विद्युत्, यूपीएस, एचभीएसी, अग्नि सुरक्षा र सुरक्षा प्रणालीको स्तरोन्नति गरिनेछ।

त्यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का मापदण्डअनुसार सञ्चार, नेभिगेसन, निगरानी तथा हवाई यातायात व्यवस्थापन प्रणालीलाई आधुनिक बनाइनेछ। सञ्चालन तथा मर्मतसम्भार क्षमता अभिवृद्धिका लागि कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरिनेछ।

परियोजनाबाट हवाई सुरक्षामा सुधार हुनुका साथै विमानस्थलको सेवा निरन्तरता, हवाई यातायात व्यवस्थापनको दक्षता र विपद् प्रतिरोधी क्षमता बढ्ने अपेक्षा गरिएको छ। यसले नेपालको पर्यटन, व्यापार तथा हवाई सम्पर्क विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा यो परियोजनालाई दुई देशबीचको दीर्घकालीन मित्रता तथा सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा हेरिएको जापानी दूतावासले जनाएको छ।