जापानले ठूलो संख्यामा नर्सिङ केयर गिभर माग्यो


काठमाडौं – जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।

नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ । त्यसका लागि जापान फाउण्डेशनले केयर गिभरमा जान इच्छुकहरुसँग आवेदन माग गरेको छ ।

भाषा परीक्षा जनवरीको ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३–५, ९–११, १२, १५–१९ तारिखमा हुनेछ ।

भाषा परीक्षा काठमाण्डौको डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा हुनेछ । परीक्षाको लागि आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ ।

यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखनशैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एण्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको छ ।

जम्मा २ सय ५० पूर्णांकको यस परीक्षामा दुई सय अंक ल्याएर परिक्षार्थी उत्तीर्ण हुन सक्नेछन् । आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ ।

यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ ।

यसअघि पहिलो चरणमा अक्टोबरमा भाषा परीक्षा लिइएको थियो जसमा १३ हजार जनाले आवेदन दिएका थिए । तीमध्ये फाउण्डेशनले गोलाप्रथाबाट छनौट गरेका १ हजार जनालाई मात्र भाषा र सिप परीक्षामा समावेश गरेको थियो ।

तर त्यतिबेला लिइएको पहिलो चरणको परीक्षामा कोही पनि उत्तीर्ण नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement