काठमाण्डु– सरकारले लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण तथा मृत्युको संख्या बढिरहेको भन्दै सजग रहन आग्रह गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जेईको संक्रमण तथा मृत्युको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन आग्रह गरेको हो।
यो वर्ष जेईबाट देशभर २१ जनाको मृत्यु भइसकेको जनाएको छ भने २५ जिल्लाका ५९ स्थानीय तहका ८० जनामा जेई पुष्टि भएको छ।
हाल सम्म झापामा १० जना, त्यसपछि कैलाली र मोरङमा ७/७ जना, सप्तरी र कञ्चनपुरमा ६/६, तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी झापाका ६ जना छन्। झापामा १० जनामा संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिए उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था जान महाशाखाले आग्रह गरेको छ।
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ।
पछिल्लो प्रतिवेदनअनुसार ८७ प्रतिशत जेईका केस तराईका जिल्लामा देखिएका छन्। धेरै बिरामीहरू धानखेत तथा सुँगुर पालन गरिने क्षेत्रमा बसोबास गर्ने पाइएको छ।
संक्रमित जनावरहरू जस्तै सुङ्गुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ। जेईको संक्रमण भएका प्रत्येक ३ जनामध्ये १ जनाको मृत्यु हुने र १ जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्न पर्ने तथ्याङ्क छ।
जेई लाग्यो भने सुरुमा रुघारखोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिन्हहरु देखिन्छन् । त्यसपछि निम्नानुसार गम्भिर प्रकारका लक्षण र चिन्हहरु देखापर्छन् :
– उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने।
-वाकवाकी लाग्ने र वान्ता आउने।
-झर्को मान्ने, वेसुर हुने, बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने। यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। विरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउन महाशाखाले आग्रह गरेको छ।
लामखुट्टेको टोकाईबाट बच्न र जेई संक्रमण हुन नदिन के गर्ने ?
१.घरको झ्याल, ढोकामा जाली राख्ने।
२.घर वरीपरी पानी जम्ने खाल्डारखुल्डी पुर्ने।
३.हात खुट्टा पूरै ढाकिने कपडा लगाउने।
४.झुलभित्र मात्र सुत्ने।
५. लामखुट्टे भगाउने धूप बाल्ने।
६. लामखुट्टेको टोकाईबाट बच्न शरीरमा महलम लगाउने।
७.जापनीज इन्सेफलाइटिस रोगबाट सुरक्षित हुन जेई खोप लगाउने।
८. खोप १२ महिनाको उमेरका बालबालिकाहरूलाई लगाउने।






प्रतिक्रिया