कैलालीमा जापानिज इन्सेफलाइटिसः दुई जनाको मृत्यु, सातमा संक्रमण

कैलालीमा जापानिज इन्सेफलाइटिसः दुई जनाको मृत्यु, सातमा संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा जापानिज इन्सेफलाइटिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सात जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाका तीन, घोडाघोडी नगरपालिकाका दुई र लम्कीचुहा नगरपालिकाका दुई जना छन् । मृत्यु हुने दुवै जना घोडाघोडीका हुन् ।

लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरल रोगले गम्भीर अवस्थामा मस्तिष्कमा असर गर्न सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनका अनुसार जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन र संक्रमित सबैमा एकै प्रकारको लक्षण देखिँदैन ।

संक्रमण भएपछि उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने तथा कम्पनजस्ता लक्षण देखिन सक्छन् । यस्तो लक्षण देखिए तत्काल स्वास्थ्य संस्था पुग्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

घरवरिपरि पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने तथा झ्यालढोकामा जाली लगाउनेजस्ता उपाय अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

जापानिज इन्सेफलाइटिसको संक्रमण चक्र सुगुर, बंगुर तथा केही चराचुरुङ्गी र लामखुट्टेसँग सम्बन्धित हुने भएकाले पशुपालन गर्दा समेत सावधानी अपनाउनुपर्ने कार्यालयले जनाएको छ ।