नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको फैसलाप्रति जसपा रुष्ट


काठमाण्डु – जनता समाजवादी पार्टी सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश रोक्न दिएको आदेशमाथि रुष्ट बनेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताएका हुन् ।

शुक्रबार राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले कानून सम्मत ल्याइएको अध्यादेश रोक्नु गलत भएको बताएका हुन् ।

संसदमा ३ वर्षदेखि अड्किएको नागरिकता सम्बन्धी विधेयकबारे निर्णय नसकेको उल्लेख गर्दै अदालतको निर्णयबाट धेरै नागरिकले दुःख पाउने बताएका छन् ।

‘नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ,’ उनले भने, ‘अदालतको फैसलाले स्थिति झन् भयावह हुनसक्छ ।’

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जसपाको मागअनुसार नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए । उनले जसपालाई सरकारमा सहभागी गराउने सर्त बमोजिम उक्त अध्यादेश राष्ट्रपतिमार्फत जारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गरेपछि जसपा ठाकुर समूह सरकारमा सहभागी भएको हो । प्रधानमन्त्रीको नयाँ क्याविनेटमा जसपाबाट मात्रै ११ जना मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement