‘नो केबलकार आन्दोलन’माथिको दमन रोक्न जसपा नेपालको आग्रह, यी हुन् निर्णयहरू

‘नो केबलकार आन्दोलन’माथिको दमन रोक्न जसपा नेपालको आग्रह, यी हुन् निर्णयहरू


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सम्पन्न भएको छ ।

पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाइ गर्न सरकारसँग माग गरेको अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयले जनाएको छ ।

किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर गर्दै बैठकले अलोकतान्त्रिक सरकारी कदमको निन्दा गरेको छ । धार्मिक सांस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर आदिवासी–जनजाति समुदायको अधिकारको हनन् गरेको बैठकको ठहर छ ।

सरकारले माघ २४ गतेको संसद्मा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्नेबारे कार्यकारिणी बैठकमा छलफल भएको छ । अध्यादेशको विषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

अध्यादेश पारित हुने/नहुनेमा जसपा नेपालको भूमिका निर्णायक भएकाले यसबारे पार्टीको निर्णयलाई चासोका साथ हेरिएको छ ।

बैठकले ३ वटा प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज बीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।

कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को प्रदेश, जिल्ला, पालिका र वडास्तरीय समीक्षा गरेको छ । निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ । माघ मसान्तपश्चात अभियान स्थगित गरेर आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनलाई बैठकले निर्देशन दिएको छ ।

जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ । बैठकमा समिति गठनका लागि २ दर्जन नेताहरूको नामावली संकलन गरिएको छ । थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरू चयन गर्ने बताइएको छ ।

कार्यकारिणी समितिमा नयाँ सदस्यहरू थप्ने गरी गठित कार्यदलको प्रतिवेदनउपर छलफल भए पनि चाँडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ । कार्यकारिणीमा नयाँ सदस्यका लागि १० जनाको नाम प्रस्ताव आएको बताइएको छ । ३ जना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ ।

बैठक ३ दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी थियो ।