जसपा कार्यकारिणी बैठक : होला त सांसद यादवलाई कारवाही ?


काठमाण्डु – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक भोली बस्दै छ । बैठक आइतबार बिहान ११ बजेका लागि बोलाईएको जसपाका नेताहरुले बताएका छन् ।

भोलीको बैठकमा पार्टीको भावी रणनिति र समसामयिक बिषयमा छलफल हुने संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको निजि सचिवालयले जनाएको छ ।

प्रदिप यादवको कारवाही बारे टुङ्गो लाग्ने

पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा पनि भोलीको बैठकमा छलफल हुने जनाइएको छ । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीको विरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ ।

सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो । कात्तिक ११ गते सोधिएको स्पष्टीकरणबारे यादवले जवाफ दिइसकेका छन् । यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेको जनाइएको छ ।

पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।

सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र भोलि बस्ने कार्यकारिणी समितिको बैठकले त्यसलाई टुङ्गो लगाउने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement