जसपा अध्यक्ष यादव बाराबाट चुनाव उठ्ने, जनमत पार्टीसहित तीन दलले आफ्नै उम्मेदवार उठाउने


काठमाण्डु — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उपनिर्वाचन लड्ने भएका छन् । बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसंगै उपेन्द्र त्यहांबाट चुनाव उठ्ने निश्चित भएको हो ।

जसपा अध्यक्ष यादवले वाराबाट चुनाव लड्नकै लागि उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । उनले सत्तारुढ दलका शिर्ष नेताहरुसंग समेत आफु उम्मेदवार बन्ने चांजोपांजो मिलाइसकेका छन् ।

यादव गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसंग १८ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । यादव तराईमा सबैभन्दा बढी निर्वाचन क्षेत्र फेर्ने नेता समेत हुन् ।

उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा उनी सुनसरी–५ बाट चुनाव लडेका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी–२ बाट चुनाव लडेपनि पराजित भए ।

यादवले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा एमालेसंग गठबन्धन गरेका थिए । एमालेसंगै गठबन्धन गरेर उपराष्ट्रपतिमा निर्वाचित शाह वारा २ बाट निर्वाचित भएका थिए ।

यादवलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र समाजवादीले समर्थन गर्ने लगभग निश्चित भइसकेको छ । तर, सत्ता गठबन्धनमै रहेका मधेशवादी दलहरु भने उनको पक्षमा उभिने सम्भावना कम छ । उपराष्ट्रपतिको निर्वाचनमा जसपाका उम्मेदवारविरुद्ध जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएसंगै यादवविरुद्ध नयां मोर्चा बन्ने लगभग निश्चित छ ।

अवको उपनिर्वाचनमा उनिविरुद्ध जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गर्ने सम्भावना बढेको स्रोतले बतायो । यादव पटक पटक मधेशबाट लाभ लिने नेतामा पर्छन् । उनकै नेतृत्वमा जसपा धेरै पटक सरकारमा सहभागि भइसकेको छ । यादव तीन पटक उपप्रधानमन्त्री बनेका थिए भने पटक पटक परराष्ट्र र स्वास्थ्यमन्त्रालयको मन्त्री समेत बने ।

यादवमाथि मधेशका मुद्दा देखाएर सत्तामा जाने तर, सत्तामा गएपछि मधेशलाई भुल्ने गरेको आरोप लाग्दै आएको छ । वारा २ मा निर्वाचन आयोगले वैशाख १० भित्र चुनाव गर्ने तयारी गरेको स्रोतले बतायो । यादव यसपटक वाराबाट निर्वाचित भएको अवस्थामा शक्तिशाली मन्त्रालय लिएर फेरी मन्त्री बन्ने दाउंमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement