एथ्लेटिक्सकी जयरानीको ‘दबदबा’ : कीर्तिमानसहित जितिन् चार स्वर्ण


पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लवकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा भएको ४ गुणा १०० मिटरका स्पर्धामा ४९.६० सेकेन्डको समय निकाल्दै जयरानीले चौथो स्वर्ण हात पारेकी हुन्।

यसअघि उनले आफ्नो ३ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । ४०० मिटर हर्डल्स, १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितेकी जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पाएकी थिइन् ।

महिला रिलेमा आर्मीका जयरानी थारु, रमिता थारु, सरस्वती चौधरी र निर्मला थापा सम्मलित टिमले सो स्वर्ण जितेका हुन् । रिलेमा सहभागी ओलम्पियन सरस्वती चौधरीले यसअघि सय मिटर महिलामा स्वर्ण जितेकी थिइन्।

यस इभेन्टमा गण्डकीले रजत जित्दा गण्डकीका मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२।७५ सेकेन्डको समय निकाल्दै रजत जितेका हुन्। त्यस्तै, बागमती प्रदेशले काश्य जित्यो।

उसका तर्फबाट जनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजाला लजाल अमात्य सम्मलित बागमतीले ५२।७६ सेकेन्डसहित कांस्य जितेको छ। पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मलित एपिएफ टोलीले ४२।४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो।

जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मलित आर्मीले ४२।६० सेकेन्डसहित रजत जित्दा सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मलित लुम्बिनी प्रदेशले ४४।३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement