नेपालका १४२ निजामती कर्मचारीद्वारा जापानको जेडीएस छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन

नेपालका १४२ निजामती कर्मचारीद्वारा जापानको जेडीएस छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापान सरकारको सहयोगमा सञ्चालित छात्रवृत्ति कार्यक्रम (जेडीएस) अन्तर्गत नेपालका १४२ निजामती कर्मचारीले छात्रवृत्तिमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

सोमबार जेडीएस नेपाल र जेडीएस आल्मुनाई एशोसिएशन नेपाल (जेडिसान) को संयुक्त आयोजनामा लाजिमपाटमा सामाजिक कार्यक्रम गर्दै अध्ययनको विवरण सार्वजनिक गरिएको छ ।

हालसम्म १४२ जना कर्मचारीले स्नातकोत्तर तह अध्ययन पूरा गरेका र हाल जापानमा ४० जना स्नातकोत्तर र ५ जना विद्यावारिधि गरिरहेको जनाइएको छ ।

कार्यक्रम नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, नेपालका लागि जापानका राजदूत माएदा तोरु, सहसचिव लगायतका अधिकारी, नेपालका लागि जाइकाका मुख्य प्रतिनिधि मिजुकी माचुजाकी, जापानको हिरोशिमा विश्वविद्यालय, रिचुमेइकान विश्वविद्यालय र केइओ लगायतका विश्वविद्यालयका प्राध्यापकहरू तथा विश्वविद्यालयहरूमा छात्रवृत्तिमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरि फर्केका नेपाल सरकारका विभिन्न निकायमा कार्यरत करीब १०० जना निजामती कर्मचारी, जापानमा अध्ययन गरेर नेपालमा रहेका पूर्व विद्यार्थीहरूका संगठनका प्रतिनिधि (जान तथा जुआन), नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

छात्रवृत्ति कार्यक्रम नेपालमा सन् २०१६ बाट सुरु भएको थियो । पहिलो चरणमा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध रहेकोमा दोस्रो चरणबाट प्रत्येक वर्ष २० जना स्नातकोत्तर सँगसँगै २ जनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध छ ।

कार्यक्रममा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दक्षिण–पूर्वी एशिया महाशाखाका प्रमुख तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन समितिका सदस्य, सहसचिव भृगु ढुंगानाले स्वागत मन्तव्य राखेका थिए । नेपालका लागि जापानका राजदूत माएदा तोरुले उद्घाटन मन्तव्य राख्दै जापान–नेपाल सम्बन्ध जनस्तरसम्म पुर्‍याई थप प्रगाढ बनाउन जेडिएस छात्रवृत्ति लगायतका कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र आगामी दिनमा नेपाल सरकारको नीति निर्माण र कार्यान्वयनमा गुणात्मक प्रभाव थपिने विश्वास व्यक्त गरे ।

जेडीएस आल्मुनाई एशोसिएशन नेपाल (जेडिसान) को तर्फबाट जेडिसानका अध्यक्ष तथा नेपाल सरकारका गृह सचिव गोकर्णमणि दुवाडीले जापान सरकार र जापनिज दुतावास, जाइका नेपाल तथा जेडिएस नेपालको सहयोग र सहकार्यको लागि हार्दिक आभार व्यक्त गर्दै जापानमा अध्ययन तथा अनुसन्धान गरी फर्किएका नेपाल सरकारको विभिन्न निकाय र तहमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार र अनुसन्धानका निष्कर्षहरू कार्यान्वयनमा ल्याउन एकाकार प्रयास गर्ने थलोको रूपमा जेडिसान स्थापना भई क्रियाशील रहेको बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै छात्रवृत्ति कार्यक्रमले नेपाल सरकारका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका साथै वृत्ति विकासमा उल्लेखनीय योगदान दिनुका साथै नेपाल र जापानबीचको शताब्दिऔं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गरेका थिए ।