कालीकोटमा जिप दुर्घटना,चालकसहित तीन जनाको मृत्यु


कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ। शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।

जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement