पर्यटनमन्त्री पशुपतिमा :मन्दिर परिसरको सरसफाईमा ध्यान दिन निर्देशन


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तल लगायत स्थलको अवलोकन गरेका थिए ।

सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउनपर्नेमा जोड दिए

मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिंदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement