मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा लाठीचार्ज, शिक्षामन्त्री घाइते

मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा लाठीचार्ज, शिक्षामन्त्री घाइते


जनकपुरधाम – मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम भएको झडपमा प्रदेशका शिक्षामन्त्री घाइते भएका छन् ।

सप्तरीमा भएको कार्यक्रममा जनमत पार्टी र प्रहरीबीच झडप भएपछि शिक्षामन्त्री महेशप्रसाद यादवसहित ३ जना घाइते भएका छन् ।

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ ।

झडपमा मधेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जानकारी दिए ।

जनमत पार्टीको विरोधबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका–१३ मा करीब १२ विघा जग्गामा विश्वविद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

शिलान्यासमा सप्तरी–२ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आईतबार जनमतले विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।

शिक्षामन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सीके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि विश्वविद्यालयको भवन शिलान्यास गरिएको छ ।