सचिवालय बैठक बहिस्कार गर्नुको कारणवारे झलनाथ खनालले मुख खोले


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य झलनाथ खनालले पार्टी नियमसंगत रुपमा नचलाएको भन्दै शीर्ष नेतृत्वको कडा आलोचना गरेका छन् ।

शनिबार सचिवालयको बैठक बहिस्कार गरेका खनालले आइतबार नयाँ बानेश्वरमा आयोजित एक अन्तक्रिया कार्यक्रममा भने, पार्टीलाई नियमसंगत रुपमा चलाउनका लागि यसो गरिएको बताए । उनले पार्टीलाई शीर्ष नेतृत्वले विधान र नियमभन्दा बाहिरबाट चलाइरहेको आरोप समेत लगाए ।

‘पार्टी गतिहीन भयो, पार्टीलाई गतिमा ल्याउनका लागि सानो तहका नेताहरुले यो पहल गरेका हौँ’, नेता खनालले भने, ‘पार्टी गतिमा नहिँड्ने हो भने सकिन्छ । पार्टीलाई सकिनबाट जोगाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’ खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’

आफूहरुले बैंठक बहिस्कार गरेपछि त्यसले पार्टीमा तरंग सिर्जना गरेको उनको दावी थियो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक निर्धारित समयमा सुरु नभएपछि खनालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement